जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

‘ठूलामान्छे सधै गाउँ फिरे हुन्थ्यो’

0 comments

नवीन लोचनमगर, रोल्पा
अपर्झट बतासिँदै वर्षिएको ठूलो झरि र सोही झरिले निम्त्याएको अपत्यारिलो बाढि । गत मंगलबार एकीकृत घुम्ती शिविरका लागि रोल्पाको थबाङ प्रस्थान गरेको जम्बो टोलिको लागि चुनौती देखिरहेका थिए बटुवाहरु ।

‘बाढि पहिरोले छेक्छ कि’ भन्ने भय टोलिलाई मात्र होइन, देखिजाने सबैलाई थियो । तर ‘ठूला मान्छे’को यात्रामा त्यस्तो अवरोध नहुने कुरा कुरेली खरिबोटका स्थानीय व्यवसायी पूर्वे बुढामगरलाई बल्ल थाहा भयो । ‘खै अरुबेला भए त तीनचारदिन बाटो रोकिन्थ्यो, आज त केही घण्टामै बाटो खुल्यो ।’ पहिरोले भत्काएको बाटो तत्काल दोजरले निर्माण गरेको देखेपछि पूर्वे बुढामगरलाई ‘ठूलामान्छे सधै हिडिदिए हुन्थ्यो’ भन्ने लाग्यो ।

दुइखोली–थबाङ सडकखण्डको कुरेलीमा पहिरो जाँदा भत्किएको कच्ची सडक केही घण्टामै निर्माण भई गाडी चलेको देख्दा कुरेलीकै भीमबहादुर बुढालाई पनि अनौठो लाग्यो । वर्षा लागेसँगै बाटो पूर्णरुपले अवरुद्ध हुने कुरा ग्रामीण भेगका समुदायलाई राम्रोसँग थाहा छ, तर ठूलावडा हिड्दा आफ्नो लागि एकैछिन बाटो मर्मत गर्नेले सबै नागरिकको बाध्यतालाई बुझेर काम गरिदिए हुन्थ्योजस्तो लाग्छ भीमबहादुरलाई ।

लिबाङ–थबाङ मोटरबाटो सञ्चालन भएपछि रोल्पाको २ नं. निर्वाचन क्षेत्रका अधिकांस गाविस प्रत्यक्ष लाभान्वित छन् । तर वर्षाभरि यो बाटो खुल्ने र चल्नेको चक्रमै हुने मिरुलका स्थानीय स्वर्णीम बुढा बताउँछन् ।

‘ठूला मान्छे’ गाउँ फिर्दा फाइदै हुने पूर्वे बुढाको थम्याई छ । त्यसो त उपराष्ट्रपति नन्दबहादुर पुन गाउँ फिर्दा माडीचौरको अप्ठ्यारो घुम्ती काटिएको र उपराष्ट्रपति गाउँ राङ्सी पुग्न गरिएको सडक मर्मतले धेरै सहयोग पुगेको राङ्सीका सम्वेग बुढामगर बताउँछन् । रोल्पालाई खुला दिसामुक्त घोषणा गर्न उपराष्ट्रपति आउँदा सदरमुकाम लिबाङ समेत निकै सफा र सुन्दर बनेको जिल्ला विकास समितिका सरसफाइ फोकल पर्सन दामोदर प्रसाद सुवेदीलाई सम्झना छ ।

विकास निर्माणका सन्दर्भमा देखिने ढिलासुस्तीले आजित ग्रामीण समुदायलाई ‘ठूला मान्छे’ सधै गाउँ फिरुन् भन्ने कुरेलीका युवा अगुवा सुकबहादुर बाँठालाई लागिरहन्छ । शहरबजारमा ‘ठूला मान्छे’ हिड्दा ट्राफिक जाम भएर नागरिकले सास्ती पाउने गरे पनि ग्रामीण भेगमा भने फाइदै हुने ग्रामीण भेगका अगुवाहरुको बुझाई छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger