लेखकः नवीन लोचनमगर |
नेपाल र विश्वभरिका मान्छेहरुका लागि रोल्पा अझै उत्सुकताको विषय नै छ । दशवर्षसम्म रोल्पालीले गरेको त्याग, तपस्या र बलिदान रोल्पाको एउटा परिचय हो भने त्यसपछिको उत्पन्न परिस्थिति खासगरि संविधानसभाको निर्वाचन तथा अन्य उदाहरणीय सामाजिक क्रियाकलापले पनि रोल्पा अझै उत्सुकताको विषय नै छ । मुलुकको राजनीतिक पेरोफेरिमा पनि रोल्पाको बलियो उपस्थिति देखिनु पनि रोल्पाको एउटा पहिचान नै हो भन्दा हुन्छ ।
मुलुककै दोस्रो ठूलो पद उपराष्ट्रपति नन्दबहादुर पुनमगर देखि सभामुख ओनसरी घर्तीमगर र ठूलो पार्टीको मुख्य ओहोदाहरुमा समेत रोल्पालीको बाक्लै उपस्थिति देखिन्छ । यी सबै कारण रोल्पा चर्चामै छ । पछिल्लो समय पर्यटकीय दृष्टिकोणले पनि रोल्पालाई चिनाउन भरमग्दुर प्रयासहरु हुने गरेका छन् । तर रणनीतिक योजतासहित गुरुयोजना निर्माणतर्फ भने कसैले चासो दिएको देखिदैन ।
विगतले रोल्पालाई परिचित त गरायो नै । तर अब कसरी नमूना बनाउने भन्ने बारेमा भने धेरै किसिमका चुनौती अगाडि देखिदै आएका छन् । एकता नै बल हो भन्ने उदाहरण खुला दिसामुक्त अभियानको सार्थकताले देखाइसकेको छ । तर त्यसैगरि अन्य साझा सरोकारका विषयहरुमा कत्तिको क्रियाशीलता देखाउने भन्ने प्रश्न रोल्पालीका सामु ज्यूँका त्यूँ छन् ।
कहिलेकाँही सदरमुकाम लिबाङ टुडिखेलमै छरिएका फोहोरको दुर्घन्धले रोल्पालीलाई त जिस्काउँछ नै रोल्पा इतरकालाई पनि यता निस्किँदै गर्दा मनमा खेलिरहेका अनेक प्रश्नहरुको कारखाना नै भत्काइदिन्छ । बजार वरिपरिबाट सत्कारको निम्ति खेरिएझैं चोकचोकमा फोहोरको डङ्गुर थुप्रिनुले सरोकार राख्ने जिल्ला विकास समिति र नगरपालिकालाई गिज्याइरहेको हुन्छ । डम्पिङ साइड वा ल्याण्डफिल साइड निर्माणका लागि नगरपालिका पनि नलागेको होइन तर व्यवस्थापनको उचित स्थान भेट्नमा नगरपालिका असक्षम रह्यो । जिल्ला विकास समितिको पनि फोहोर व्यवस्थापनमा त्यति तदारुपता देखिएन । गाउँबाट विभिन्न कामका लागि सदरमुकाम आउनेहरुका लागि यहाँको हरेक कुरा सिक्न लायक हुनुपर्छ भनेर पटक पटक भनिन्छ तर शिक्षित भनिएकाहरुकै थातथलो फोहोरको अस्तव्यस्ततामा भासिएको देख्दा विभिन्न उत्सुकता बोकेर सदरमुकाम झरेका वा रोल्पा इतरकाले के बुझ्लान ?
‘रोल्पाको विकास, सभ्यता र समृद्धि, पूर्ण सरसफाईयुक्त हाम्रो जीवन पद्धती’ भन्ने नारासहित रोल्पालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान जारी छ । सन् २०२२ सम्म यो अभियानलाई पूर्ण बनाउनका लागि सरोकारवाला सबै लागिरहेका छन् । तर खुला दिसामुक्त अभियानको जस्तो हौसिएको खासै देख्न सकिएको छैन । यसमा मुख्यतः जिल्ला हुँदै स्थानीयस्तरसम्म दलहरुको ऐक्यवद्धता, तीब्र इच्छाशक्ति तथा क्रियाशीलता अनिवार्य हुनुपर्दछ । दलहरुकै अगुवाईमा आवश्यक नीति निर्माण हुने हुन् । त्योसँगै सञ्चारकर्मीहरुको भूमिका पनि अहम् रहन्छ । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको चनाखोपन त अनिवार्य नै हुनेभयो ।
नेपाललाई सन् २०३० सम्म पूर्ण सरसफाइयुक्त राष्ट्र घोषणा गर्ने राष्ट्रिय योजना रहेको छ । त्यसलाई सार्थक बनाउन वडा, गाविस, नगरपालिका, जिल्ला हुँदै जति छिटो कार्यप्रगति तीब्र पारियो त्यति नै अभियानले सार्थकता पाउने हो । तर यस्ता अभियानहरु घोषणामै सीमित हुनुहुँदैन । त्यसको अनुगमनको पाटोलाई पनि ध्यान दिनु आवश्यक हुन्छ । रोल्पालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने एउटा कुरा हो भने यहाँका नागरिकलाई सरसफाई व्यवहार सिकाउनु अर्को कुरा हो । मुख्य चुनौती भनेकै सरसफाइमा स्वतःस्फूर्त अग्रसर हुने वातावरणको सिर्जना गर्नु हो ।
अरुले हातमुख धुनुस्, फोहोरको सही व्यवस्थापन गर्नुस् भनेर कति दिन हुन्छ ? त्यो त हरेक व्यक्तिको मनमस्टिष्कमा बस्न जरुरी हुन्छ । जबसम्म यो मेरो लागि हो भन्ने आत्मबोध हरेक नागरिकले गर्न सक्दैन तबसम्म यी अभियान सार्थक हुन सक्दैनन् । आनीबानी परिवर्तनका लागि सरोकारवाला निकायहरुले नागरिक सचेतनामूलक कार्यतर्फ पनि ख्याल गर्ने कि !
–२०७३ साल साउन ४ गते मंगलबार प्रकाशित
Post a Comment