२३ पौष, रोल्पा । गएको बुधबारका दिन रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेल नजिकैको एउटा पसलमा पाँच सातजना बृद्ध देखिने आमाहरु झुम्मिएका देखिए । उत्सुकता पूर्वक पत्रिका पढिरहेका उनीहरु किन त्यसरी चासो दिइरहेका छन् भन्ने कुरा बुझ्न धेरै समय लागेन । उनीहरु सनस्टार साप्ताहिकको गताङ्कको ‘महिलाका कुरा’ स्तम्भमा प्रकाशित महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तिर्था आचार्यसँग देवी गुरुङले लिनुभएको कुराकानी पढिरहेका रहेछन् । एकजनाले पढ्ने र अरु सबैले मुखामुख गर्दै निकै चासोका साथ सुनिरहेका देखिन्थे । ‘तिर्था मेडमले हाम्रो बारेमा बोल्नुभएको रहेछ’ भन्दै उनीहरु बाटो हिड्ने मान्छेहरुलाई पनि अनुरोध गरिरहेझैं गरी दायाँबायाँ हेर्थे र फेरि पत्रिका नै पल्टाउँथे । महिला रक्षक सञ्जालमा आफू अध्यक्ष भए यता थबाङको एउटा घटना मिलाउन सफल भएको कुरालाई तिर्था आचार्यले अन्तरवार्तामा उल्लेख गर्नुभएको विषयमा उनीहरुको आँखा गाडिएको बुझियो । किनकी घटनासँग सम्बन्धित व्यक्तिहरु नै उनीहरु थिए । हामीले यही दृश्यलाई क्यामरामा कैद गरिरहेको थाहा पाएपछि भने उनीहरु केही सजग देखिए ।
रोल्पाको थबाङ घर भएका उनीहरु एउटै कामको लागि सदरमुकाम धाउन थालेको २० वर्ष भइसक्यो । अहिले भने सबैले सहमतिको लागि विकल्पहरु खोजे र सहमति गरे । थबाङ वडा नं. २ घरभएका ५८ वर्षिय हितबहादुर पुनमगरले तिनवटी श्रीमती हुँदाहुँदै पनि अर्को श्रीमती ल्याएपछि विवाद सुरु भएको थियो । हितबहादुर पुनका जेठी श्रीमती सुनाई पुन अहिले ५४ वर्ष पुग्नुभयो । उहाँबाट दुई छोरी जन्मिए । छोराको आशमा रहेका हितबहादुरले कुमारी पुनसँग दोस्रो विवाह गरे । उनीबाट कुनैपनि बच्चा नभएपछि उनले पुनः तेस्रो विवाह गरे । तेस्रो श्रीमतीबाट एक छोरी भएकै अवस्थामा हितबहादुरलाई छोडेर अर्कैसँग विवाह गरिन् । तेस्रो श्रीमतीले पनि छोडेर गएपछि हितबहादुरले चौठो श्रीमती भित्र्याए । जब उनले दोस्रो विवाह गरे त्यसै बखतबाट श्रीमान श्रीमतीहरु बीच विवाद शुरु भइसकेको थियो । यही क्रममा २० वर्ष पहिले जेठी र माहिली श्रीमती मिलेर अंशबन्दाको विषयलाई लिएर अदालतमा मुद्दा दायर गरे ।
अदालतले मुद्दा दर्ता त ग¥यो तर कानुनी प्रक्रिया अगाडि बढाउनमा कुनै उत्सुकता देखाएन, हरेक महिना बोलाएर दुःख दिने तर निर्णय नदिने गर्दै तारिरह्यो । लामो अदालती प्रक्रियालाई सम्झिँदै कुमारी पुनले भनिन् ‘अदालतमा हिड्दा हिड्दा धेरै कुरा गुमाइयो तर वास्ता गरिएन ।’ गएको पौष ३ गतेबाट सदरमुकाममा निर्णयको पर्खाइमा बसिरहेको बताउने उनीहरु महिला सञ्जालको पहलप्रति भने आभारी देखिए । मुद्दाको विषयमा महिला सञ्जालको पहलमा सबै सम्पत्ति जेठी श्रीमतीसँग बराबरी बाँड्ने सहमति भयो । तर माहिली श्रीमतीले भने केही लिएनन् । यस विषयमा जिज्ञासा राख्दा उनले भनिन् ‘म माइतीको दाइजोमा बसिरहेको छु, मलाई कसैको केही चाँहिदैन । २० वर्षसम्म लडें तर कुरा मिल्ने सम्भावना नदेखिएपछि सबैकुरा छोडिदिएँ । अहिले पनि चित्त बुझिरहेको छैन तर कति दुःख पाउनु भनेर यसैमा मिलाउन सहमत भएँ ।’
लामो समयसम्मको अदालती प्रक्रियामा समेत टुङ्गो लाग्न नसकेको मुद्दा महिला सञ्जालको पहलकदमीका कारण मिलेको भन्दै सुनाई पुनकी छोरी सविना पुले भनिन् ‘महिला सञ्जाल र त्यस संस्थासँग आवद्ध सम्पूर्णलाई धन्यवाद दिन्छौं ।’
अहिले यो मुद्दा जेठी श्रीमती र श्रीमान बीच बराबरी अंशबन्दा गर्ने कुरामा टुङ्गीसकेको छ । माइली श्रीमतीले भने केही नलिने बताएका छन् । मुद्दा मिले पनि अंशबन्दा र नामसारीको क्रममा अझै केही समय लाग्ने देखिएको छ ।
Post a Comment