२८ असार । गुरु पूर्णिमाको दिन । संयोग त्यस्तै । गुरुहरुकै देनले आफ्ना हरपाइला चालिरहेका एउटा यात्री । समस्याको चाङभित्र समाधानका गोरेटो समाएर पनि हेर्दाहेर्दै आफ्नै बस्तीको न्यानो स्पर्श गुमाएको मान्छे । निशाचरको घुम्तोभित्रबाट जबरजस्त उज्यालो क्षितिज चियाउँदै रङ्गीन जीवनको परिकल्पनामा दुःखमा हाँस्न अभ्यस्त मान्छे । हो, त्यही मान्छे हो, कवि डी.बी. टुहुरो ।
शनिबार । जिविस रोल्पाको नयाँ हल । गुरुहरुको सम्मानमा कवि टुहुरोले छन्दबद्ध कविता वाचन गर्दा भावविह्वल नहुने कोही थिएन । सबैको गहले भन्दै थिर्यो तिमी निकै दुःख पा’को मान्छे’ । ८ वर्षको कलिलो उमेरमै बुवाको दुःखद् निधन भएपछि टुहुरो बनेका उनी विस्तारै एक्लिए । आमाले अर्कैसँग विहे गरे । चोटमाथि चोटको श्रृंखलाले टुहुरोलाई कहिल्यै नमेटिने घाउ लगायो । दर्शकहरुको बाक्लो उपस्थितिको बीचमा टुहुरोले आफ्ना विभिन्न शिर्षकमा रहेका ६ वटा छन्द कविता, ३ वटा गजल र १ वटा मुक्तक सुनाए । विगत घोत्लिएर भावुक बन्नुको अर्थ नहुने भन्दै टुहुरोले मनलाई निचोरेर ल्याउने भावनाको पहिरोबाट आफूलाई धेरै सिकाइ भएको बताए । शब्द उच्चारण समेत धौ धौ गरेका डी.बी.ले जीवनको कुरा गर्दा आफू सधै भावुक हुने बताए । कविता, गीत, गजल, मुक्तक, हाइकु लगायत साहित्यका अधिकांस विद्यामा हात हालेका टुहुरोले आफूलाई कविको रुपमा चिनाउने इच्छा व्यक्त गरे । ‘समसामयिक विषयमा कविता लेख्छु र मनोरञ्जनको रुपमा गजल लेख्छु’ टुहुरोले भने ‘मलाई कविको रुपमा चिनुन् यही चाहन्छु ।’
कवि डी.बी. टुहुरोको व्यक्तित्वको बारेमा धनराज विक ‘अविरल’ले प्रष्ट्याएका थिए । टुहुरोको जीवन फिल्मी पर्दाको कथा जस्तो रहेको अविरलले बताए । आफ्नै जीवनको बारेमा केन्द्रीत रहँदै रचना गरेको भन्दै विकले त्यसबाट केही माथि उठ्न समेत् सुझाव दिए । सल्यान जिल्लाको चाँदे करेन्जी–२ मा पूख्र्यौली घर भई रोल्पाको ओत स्थायी ठेगाना भएका कवि टुहुरो लिबाङमा बस्दै आएका छन् । इमान्दार, कर्तव्यनिष्ट, सादा जीवनका धनी व्यक्तिका रुपमा पहिचान बनाएका टुहुरो हाल विभिन्न संघसंस्थामा आवद्ध हुनुका साथै सदरमुकाममा रहेको तुलसी आवासीय माविमा प्रधानाध्यापक समेत रहेका छन् । रोल्पाली साहित्यको संरक्षण तथा संबद्र्धनमा अभिभावकको भूमिका खेलेको भन्दै उनी विनाको रोल्पाली साहित्य अधुरो हुने अविरलको भनाई छ ।
रोल्पाली स्रष्टाहरुले प्रकाशन गर्ने अधिकांस कृतिहरुमा टुहुरो साँक्षी बस्छन् । उनका प्रकाशित कृतिहरुमा ‘टुहुरो’ कविता संग्रह २०५६, ‘तिमी’ मुक्तक संग्रह २०५७, ‘जीवन’ कविता संग्रह २०५८, ‘प्रेम’ मुक्तक संग्रह २०५९, ‘सिर्जना’ कविता संग्रह २०६०, ‘स्पन्दन’ गजल संग्रह भाग–१ २०६१, भाग–२ २०६२, ‘बिहानी’ कविता संग्रह २०६७, ‘छन्दमाला’ २०७० लगायतका रहेका छन् । त्यस्तै उनले श्रृष्टिको फूल, मातृभूमी लगायतका गीत समेत् बजारमा ल्याइसकेका छन् । २०५७ सालमा स्थापना भएको ललित साहित्य परिषदको उनी संस्थापक अध्यक्ष समेत हुन् । साहित्यिक संघसंस्थाका अलवा दर्जन बढी विभिन्न संघसंस्थामा समेत उनी क्रियाशील छन् ।
ललित साहित्य परिषद रोल्पाले आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा कवि टुहुरोले आफ्नो रचना वाचन गरेका हुन् । परिषदका उपाध्यक्ष भगवती बुढामगरले सबैलाई स्वागत गरेपछि टुहुरोले आफ्नो रचना वाचन सुरु गरेका थिए । करिब २ घण्टासम्म चलेको कार्यक्रममा रवीन्द्र सुनारले टुहुरोको बारेमा गीत समेत गाए । कार्यक्रमको समीक्षा साहित्यकार गोकर्ण प्रसाद पुनले गरेका थिए । भने सञ्चालन परिषदका महासचिव केवी विरहीले गरेका थिए । कार्यक्रममा कवि साहित्यकार डी.बी. टुहुरोलाई प्रमाणपत्र प्रदान गर्दै परिषदका अध्यक्ष ओम पन्छीले सहभागि अतिथी लगायत सबैलाई धन्यवाद दिए । परिषदले हरेक महिनाको अन्तिम शनिबार एकल रचना वाचन गर्दै आएको छ ।
Post a Comment