जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

उनीहरुको सपना र गरेको सङ्कल्प

0 comments

–नवीन लोचनमगर
अरबी भूमिबाट थालिएको गजल लेखनको सुरुवात फारसी भाषा हुँदै अलि व्यापक, कोमल र सुमधुर बनाउने काम उर्दू भाषाले ग¥यो । नेपालमा मोतीराम भट्टले यसको बीउ रोपे । विस्तारै मौलाउदै गएको गजल विद्याले पछिल्लो पुस्ताका साहित्यकारहरुमा अचाक्ली घर जमाउन थालेको छ । एकातिर यसको सकारात्मक कुराहरु पनि छन् भने अर्कोतिर कतिपय लेखक साहित्यकारहरु गजल के हो ? भन्ने कुरा नै नबुझि अरुको गजललाई हेरेकै भरमा पनि लेख्ने गरेको देखिन्छ । अरबीमा गजलको अर्थ नखरा, प्रेम प्रणय भन्ने हुन्छ । यसलाई ‘ग’ भनेको वाणी, ‘ज’ को अर्थ स्त्री र ‘अल’ को सँगै भनेर पनि अथ्र्याइन्छ । अथवा, गजललाई स्त्रीसँग गर्ने कुराकानी अझ भनौं प्रेमीकासँगको वार्तालाप पनि भन्ने पुरानो चलन छ । तर पछिल्लो समय यसको क्षेत्रमा व्यापकता र फराकिलो बनीरहेको छ । 
नेपालको गजल लेखन परम्परा निकै फराकिलो बनीरहेको अवस्थामा रोल्पाका तीनजना गजलकारहरुद्वारा सिर्जित ‘सपना र सङ्कल्प’ अहिले बजारमा छ । कुनैबेला सुनिन्थ्यो साहित्य सिर्जना गर्नु भनेको कथित नाम र दामवालाहरुको  ठेक्का हो र कलम उनीहरुको बिर्ता हो । यो कुरालाई हाँक दिंदै रोल्पाको अत्यन्तै विकट गाविस जेलबाङमा जन्मिएर अध्ययनको शिलशिलामा दाङ झरेका तीन गजलकार विष्णु पुन ‘सन्यास’ मगर, प्रकाश रोकामगर ‘अभाव’, र खबपु ‘चञ्चल’ मगरले संयूक्त रुपमा गजल सङ्ग्रह ‘सपना र सङ्कल्प’लाई जन्म दिए । 
‘सपना र सङ्कल्प’ एउटा यस्तो कृति हो, जसले सबै किसिमका वातावरण र वस्तु स्थितिसँग नजिक रहन मद्दत गर्दछ । कृतिले कुनै ठाउँमा द्वन्द्वकालको रोल्पालाई प्रतिविम्वित गर्दछ भने कहिले त्यसपछिको शुन्यता र धेरै निराशा बीचको झिनो आशालाई समेत प्रकट गर्दछ । जम्मा ६३ वटा गजलहरु समावेश गरिएको यो कृतिमा तीनै जना गजलकारका २१÷२१ वटा गजलहरु रहेका छन् । विष्णु पुनको गजल ‘म हिड्ने गोरेटो’ बाट खुलेको ‘सपना र सङ्कल्प’को ढोका प्रकाश रोकाको मातृभूमि प्रतिको सम्मानले भरिएको ‘सलाम छ जेल्बाङ’ हुँदै खबपु मगरको ‘गाउँले धुनहरु’मा गएर कितावी यात्रा अन्त हुन्छ ।
बन्दुकको कठोर एवं विशाक्त गोली निस्कने मोहरीसँग लुकामारी खेल्न नपाएपनि, युद्धै युद्धको बीचमा बुद्ध बनेर बस्न नसकिने र बारुदको गन्ध गोलीको आवाजले शान्त मनहरुमा ‘अब के हुने हो ?’ को त्रासले अवश्य चञ्चलता ल्यायो । दबिएकाहरुको आवाजको सुनुवाई तिर कसैको ध्यान नजानु र गरिब किसानहरुको मागप्रति राज्यले गरेको वेवास्ताले आजित नेपाली जनताहरुको संघर्षप्रति विष्णु पुनका यी गजलिय वान्कीहरुले ऐक्यवद्धता जनाउँछन्–
झुपडी जलाएर ओ शाषकहरु कतिदिन हाँस्छौ
स्वाभिमानमा दुष्टहरुसँग मेल त्यो कतै छैन ।
आस्था र विचार थुन्ने जेल त्यो कतै छैन ।
न्याय र सत्य रोक्ने नेल त्यो कतै छैन ।
–आस्था र विचार
धनपैसाले गर्दा मान्छेको मन, मुटु र मायाँलाई समेत आघात पुगेको कुरा उनले कतिपय गजलहरुमा व्यक्त गरेका छन् । धनकै कारणले मान्छेको इमान सम्मान समेत झुक्ने गरेको सन्यासको थम्याई छ–
आँखा हाम्रो किन सधै पापी धन माथि
विश्वास हाम्रो टुटिरहेछ किन मन माथि
बिलाएर आदर्श, लक्ष्य थाहा त यथार्थ,
जिएर पैसा वास्ता छैन तन माथि ।
–आँखा हाम्रो
प्रेमले मान्छेका भावनात्मक सम्बन्धको बीचमा पनि केही बाध्यात्मक स्थितिको सिर्जना गराउने कुरा उनले व्यक्त गरेका छन् । यहाँ मिलनमा हाँस्नेहरु बिरलै भेटिन्छन् तर कहाली लाग्दो पर्खाइमा बाँच्नेहरु धेरै छन् ।
अङ्गालो भरिको प्रेम साटिएर सामिप्यतामा
नशाभरि प्यास डुल्ने रात यो प्यारो–प्यारो ।
–प्यारो–प्यारो रात
त्यस्तै, यही कृतिका अर्का गजलकार प्रकाश रोकामगरका गजलहरुमा पनि परिवर्तन प्रतिको दृढ इच्छाशक्ति व्यक्त भएको पाईन्छ । नेपाली राजनीतिमा राजनेताहरुको बोली र व्यवहार बीचको आकाश पातालको भिन्नता, बोलीमा संसारको कायापलट गर्ने तर व्यवहारमा सिन्कोसम्म नभाँच्ने नेपाली राजनेताहरुको चलन प्रति यी शेरहरुले कडा असहमति जनाउँदै त्यस्ता नेताहरुलाई सजग समेत बनाएका छन्–
गफ लगाऊ दुनियाँलाई समानताको
फेरि खोज्छौ जात आफै एक्लिन्छौ ।
भाषणमा भन्छौ एकताको विकल्प छैन,
तर किन गर्छौ घात आफै एक्लिन्छौ ।
–कति ढाँट्छौ
नेपाली राष्ट्रियता र नेपाली अस्मिताको लागि कुनैपनि सम्झौता नगरि वीर बलभद्रको देशलाई अझ शसक्त बनाउने सपना बुन्दाबुन्दै पराई त पराई भइगए आफ्ना भनिएकाहरुबाट पनि राष्ट्रियता प्रति घात हुँदा स्वाभिमानी आत्मा छिया–छिया भएको कुरा खबपु मगरको ‘आस्थाको खोलाहरु’ शिर्षकको गजलबाट स्पष्ट हुन्छ ।
कसैले थुक्ने कसैले फूक्ने गर्दा,
थाहाछैन यी छातीहरु कति दुख्दैछन् ।
–आस्थाको खोलाहरु
हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । विविधता भित्रको एकता नै यहाँको विशेषता हो । नेपालको सौन्दर्यतालाई मात्र बेच्न सक्यौं भने पनि हामी धनी बन्न सक्छौं । सगरमाथाको देशलाई अझै उचो राख्न कपुत छोरा भन्दा सपुत छोरा जन्मिनुपर्ने उनको भनाई छ,
हाम्री आमाको बारेमा वर्णन गर्न सकिदैंन सबै
बहुभाषा, बहुधर्म र संस्कृतिलाई साँच्छ हाम्रो नेपाल ।
सपुत छोरा भन्दा कपुत छोरा धेरै जन्मिदा
सपुत कति छन् भनेर आफै जान्छ हाम्रो नेपाल ।
–हाम्रो नेपाल
एउटै गाउँमा, एउटै परिवेश र वातावरणमा हुर्के बढेका कारणले पनि कतिपय भोगाई अभिव्यक्ति र शिर्षकहरु समेत एकअर्का बीच मिल्न खोज्छन् तर पनि प्रस्तुती शैली फरक–फरक छ । ‘कोही भन्छन् जिन्दगी, जिन्दगीमा हारेर होइन, जीवन जीवनमा’ जस्ता गजल शिर्षकहरु यसका उदाहरण हुन् । 
गजल साँच्चिकै गजल हुनलाई विभिन्न तत्वहरुको आवश्यकता हुन्छ, जस्तै सेर, मतला, मक्ता, काफिया, रदिफ, तखल्लुस, बहर यस्ता धेरै कुराहरु हुन्छन् । यी कुराहरुमा तीनैजना गजलकारहरुको कतिपय गजलहरुमा ध्यान कम गएको देखिन्छ । कतिपय गजलहरु श्रृङ्गारिक हुँदाहुँदै पनि शब्द चयनमा ख्याल नगर्दा केही बोझिलो देखिएका छन् । जेहोस् समग्रमा गजल सङ्ग्रह ‘सपना र सङ्कल्प’ नेपाली साहित्यको गजल विद्यामा एक इट्टा अवश्य हो । उदय जीएमको आवरण डिजाइन प्रतिकात्मक देखिन्छ । गजल अध्येता टीकाराम उदासीको भूमिकाले कृतिलाई थप ओजिलो बनाएको छ । साहित्य भाषाहरुको पनि भाषाको रुपमा हामी मान्छौं त्यसैले यसमा पारङ्गत बन्नको लागि निरन्तरताको खाँचो अवश्य छ । आगामी सुदुर यात्राको लागि लेखकहरुलाई शुभकामना ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger