जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

विवशताको पहिरोमा कमल र उनको कृतिः समावृत्तको आत्मा

0 comments


नवीन लोचनमगर  व्यक्ति र व्यक्तित्व फरक कुरा हुन् । एउटा व्यक्तिले आफ्नो व्यक्तित्व निर्माणको लागि निकै नै चुनौतिपुर्ण कामहरु पनि गर्नु पर्ने हुन्छ र गरिरहेका पनि हुन्छन् । जुन कामले अमरत्व प्रदान गर्दछ र जीबनलाई सार्थकताको सुगम बाटोमा दोर्याउँछ । एउटा सुन्दर व्यक्तित्व निर्माण गर्नु भनेको अरुलाई पढाउन आफैमा ऐतिहासिक किताब बन्नु पनि हो । तर त्यो व्यक्तित्व निर्माण गर्ने अवसर सबैलाई बिरलै प्र्राप्त हुने गर्दछ । आफ्नो नयाँ पहिचान सहित साहित्यको यो उल्लासमय रमझममा पाइला राख्न अघि बढेका एउटा उत्साही कवि कमल विवश मगर आफ्नो फरक व्यक्तित्व निर्माणको लागि अदम्य साहास लिएर अगाडी देखिएका छन् । उनी र उनको नयाँ कृति ‘समावृतको आत्मा’ पढ्दा मनमा उठेका भावनाहरुलाई यहाँ उल्लेख गर्न चाहान्छु ।

                   एउटा कलिलो उमेर, सय थरिका सपना सजाउने बैस, कलम समाएर भविश्यको निर्धारण गर्ने समय । तर उ बेला कलमको सातो बन्दुक समायो । त्यो उनको बाध्यता, विवशता या रहर यसै भन्न सकिन्न । जेहोस् उनले सानै उमेरमा निकै शाहासिलो काममा आफुलाई अघि सारे । अझ यसो भनौ, उनी मृत्युको हत्या गर्न भनि आफ्ना सबै सुखलाई त्यागेर आगोको यात्रामा निस्केका व्यक्ति हुन् । मर्न निस्केको एउटा कलिलो उमेर, उतै जीबन पनि देख्यो र त हिड्यो । तर बिस्तारै बिस्तारै समयले उसको बाटो भरि अनेक आवरणका घुम्टोहरु फेरी फेरी ओढायो । मनमा भनि नसक्नुको पिडाबोध भयो र सहारा बन्यो कलम । कलमले ओकलेका हरेक शव्दहरु सत्यका बिउ बनेर उभिए र यसको संकेन्द्रित अभिव्यक्ति बन्यो समावृतको आत्मा । जनयुद्धको बारेमा सिर्जना गर्दा रोल्पाको बारेमा लेखे जस्तो, रोल्पाको बारेमा लेख्दा जनयुद्धको बारेमा लेखे जस्तो । जनयुद्ध र रोल्पा, यी एक अर्काका बिम्ब जस्तै बनेका छन् । कमलले पनि युद्धको बिचमा बुद्ध बन्नुलाई लाचार सम्झियो र हिड्यो जनयुद्धमा । म उनलाई सानै देखी चिन्छु, उनको सबै वास्तविकताहरुलाई मैले नजिकैबाट राम्ररी अध्ययन गरेको छु । एउटा इमाण्डार, कर्मठ, मिजाशिलो, मिलनसार यी कमलको कहिल्यै बिर्सन नसकिने पहिचान हुन् । उनका बुवा अलबहादुर बुढा क. इमाण्डार सक्रिय माओबादी कार्यकर्ता पनि हुनुहुन्छ । बुवाको सक्रिय भुमिकाले पनि उनलाई सानैमा क्रान्तिमा हेलिने मौका जुरायो । उनी क्रान्तिमा लाग्दा पुगनपुग डेढ दसकका थिए । सानै देखी कला र साहित्यमा रमाउने कमल सुरुमा साँस्कृतिक क्षेत्रमै जोडिए । साहित्य, कला, खेलकुद उनका रुचीका बिषय हुन् । सैनिक बनेर देशको सेवा गर्नु पनि उनको एउटा ठुलै सपना थियो । भलै उ बेला उनी सानै थिए । उनलाई यो गीतमा नाच सिकाउँदा आज जस्तै लाग्छ, “अझै मत सानै छु भर्खर, लालसेनाको पाउँदैछु खबर ।”
           कविता कृतिमा उनको जन्म २०४३ भाद्र भएपनि उनको वास्तविक उमेर २०४७ साल हो । बिबिध कारणबस् उनले उमेर बढाएर नागरिकता बनाए र यही उमेर नै लेख्न बाध्य भए । उनलाई संयुक्त राष्ट्रसंघिय मिसन अनमिन द्धारा गरिएको जनसेना भित्रको प्रमाणिकरणको क्रममा अयोग्यको निकै अपमानजनक बिल्ला भिराइयो । यो उनको जीबनकै दुःखद र घिनलाग्दो दिन पनि बन्यो । जनसेना क्यान्टोनमेन्टको अघोषित जेलमा कैदी बनिरहेको बेला आएका निकै कठोर र चुनौतिपुर्ण जिम्मेवारीले कमललाई पनि अछुतो राखेन । पार्टीले जे आदेश गर्यो त्यही आदेशलाई शिरोपर गर्दै उनी अगाडी बढिरहे तर सहमतिको कुरा गर्ने तर सम्झौतामा गएर झुक्ने नेताहरुको खराब कृयाकलापले कमल र उनी जस्ता सयौंको जीबनलाई धारासायी बनाइदियो । सेना बनेर देशको सेवा गर्ने उनको सपनालाई निमोठियो र कहिल्यै निको नहुने घाउ लगाइ संगैका साथीहरुबाट छुटाई क्याम्प बाहिर निकालियो । यो समय कमल र हाम्रो लागि पनि निकै कहाली लाग्दो क्षण बन्यो । यी र यस्ता निकै कठोर दिनहरुसँग नजानिदो सम्झौता गर्नु पर्यो कमलले । म भन्छु उनी आफैमा एउटा महाकाव्य हुन् । त्यही महाकाव्य भित्रको एउटा पातो मात्र हो समावृत्तको आत्मा । यो कृति भित्र उनको प्रकाशित अप्रकाशित गरि ४९ वटा कविताहरु रहेका छन् । सत्य, वस्तुनिष्ट र यथार्थपरक यी रचनाहरु अग्रगामी चेतनाले लैस देखिन्छन् । समावृत्तको आत्मा अथवा घेरिएको मन । यो कविताले उनको वितेको वास्तविकताको सम्झना गराउँछ ।
के म पिँजडा भित्रको चरि हुँ ?
…..या जन्मकैदमा थुनिएको कैदी
तर मलाई थाहा छैन म कसरी
अक्षम र अन्जान भए
न कुनै ख्यातीप्राप्त बिश्लेषकसामुु
सोध्न सक्छु नत कुनै साहित्यकारले नै बुझिदिन्छ
म भित्रको मनको व्यथा
यस्तै यस्तै बेहोसीमै बाँचेको छ
आजकाल यो समावृत्तको आत्मा ।
                                              —समावृत्तको आत्मा
       समाज परिवर्तनको दौरानमा गरिएको संघर्षलाई कसैले नाजायज भनेपनि सत्यलाई कुनैपनि इतिहाँसले गलत साबित गर्न सक्दैन र इतिहाँसको सामु कुनै बादशाह टिकेको उदाहरण पनि छैन । यी वास्तविकताका अगाडी नेपाली जनयुद्धको पनि गहन अध्ययन तथा लेखनको पातो एकातिर छँदैछ अर्कोतिर कमलका कविताले पनि जनयद्धकालिन अतीतलाई केही मात्रामा भएपनि पढ्न मदत गर्दछ । उनका अन्य कविता शिर्षकहरु तुहिएका आशाहरु, अधुरा सपनाहरु, देश बनाउने सपना, आजै लाग्छ, म निस्किएको दिन जस्ता कविताहरुले बिगतलाई राम्ररी सम्झाउने कोशिस गरेका छन् । यस संग्रहभित्र थोरै निराशाका कुराहरु देखिए पनि धेरै कविताहरुमा भने आशा, उत्साह, बिचार एवं देशप्रेमका भावनाहरु समेट प्रशस्त देखिन्छन् । अमर यात्री, क्रान्ति आउनेछ, सबै एकजुट हौँ जस्ता कविताहरु यसका उदाहरण हुन् । उनले सामाजमा हुने गरेका गलत संस्कार संस्कृतिको समेट भण्डाफोर गरेका छन् । राजनीति नीतिहरुको राजा भएपनि नेपालका राजनेताहरुले मागिखाने भाँडोको रुपमा प्रयोग गरेकोमा कमलको यी कविताले खबरदारी गरेका छन्
होशियार नेताज्यू
झुपडी लत्याई महल सजाउने सपना नदेख
तिम्रो एक पाइला झुपडीबाट सुरु भएको हो
                                             —होशियार नेताज्यू
               कविले राष्ट्रनायकको आवश्यकता शिर्षकको कवितामा अहिलेका नेताहरुले देशलाई बनाउन नसक्ने र नयाँ नेतृत्वको आवश्यकता समेट औल्याएका छन् । रोजगारिका कारण बिदेशीन बाध्य नेपालीहरुलाई स्वदेसमै फर्किएर पसिना बगाउन आग्रह गरेका छन् हे परदेशी फर्की आउ शिर्षको कवितामा । त्यस्तै दलित भएर अपमानको सिङगै जीबन बाँच्नुपर्ने कारण बारे उनका केही यक्षप्रश्न पनि गरेका छन् । ‘समावृत्तको आत्मा’ शिर्षकको कविताबाट सुरु भएको कितावी यात्रा, ‘हे पर्देशी फर्की आउ’ हुँदै ‘कलम हुँ म’ मा गएर अन्त हुन्छ । पुस्तक सर्सर्ती अध्ययन गर्दा उनले दिन खोजेको र भन्न खोजेको कुरामा कहिँपनि चुकेको र अल्मलिएको देखिँदैन । विहानीले दिनको संकेट गर्छ भने झैं उनको लेखन थालनीले सुन्दर उज्यालो भविश्यको संकेट गरिरहेको छ । के कुुरा पाठकलाई दिन खोजिएको हो भन्ने कुरामा उनी स्पष्ट देखिन्छन् । समग्रमा उनका कविताहरुमा परिवर्तन प्रतिको दृढ सँकल्प व्यक्त भएका छन् । सबभन्दा महत्वपुर्ण कुरा उनको यो कृति प्रकाशन गर्ने शाहासको नै खुलेर प्रशंसा गर्दछु । साहित्यको यो खुला मैदानमा फिता लगाएर उनको उचाई नाप्ने समय यो पक्कै पनि होइन । यो त निरन्तर संघर्षबाट उचाई चुलिने कुरा हो ।
                अखिल नेपाल जनसाँस्कृतिक महासंघ, दाङको प्रकाशन रहेको यो कृतिमा उदय जीएमको कभर डिजाइन उत्तिकै प्रशंसनिय छ । विभिन्न व्यक्तित्वहरुको शुभकामनाले कृतिको महत्वलाई झन माथि उठाएको आभास हुन्छ । साहित्य भनेको समाजलाई कलात्मक ढंगले अभिव्यक्त गर्ने कला पनि हो । अथवा यसलाई साङ्केतिक भाषा पनि भन्ने गरिन्छ । यो भाषामा उनी पारङ्गत बन्दै जाउन् । सफलताको लागि निरन्तर मेहनत अनिवार्य छ । कमल विवश मगरको आउँदा कृतिहरु पनि पढ्ने अवसर आइरहोस् । आगामी सुन्दर सुदुर यात्राको लागि शुभकामना । 
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger