जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

एउटा गाउँको विकास हुनु भनेको जिल्ला र देशको विकास हुनु हो

0 comments

हरिजङ गुरुङ (अध्यक्ष, सामुदायिक होमस्टे गुरुङगाउँ सञ्चालक समिति रोल्पा)




मध्यपश्चिमकै पहिलो पहाडी होमस्टेको उद्घाटन गर्न सफल हुनुभएको छ । के छ पछिल्लो गतिविधि ?
गतिविधि व्यापक रुपमा चलिनै रहेको छ । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने तर्फ हाम्रो मूख्य ध्यान गइरहेको छ । उद्घाटन गर्नु मात्रै ठूलो कुरा होईन त्यसको दिगो निरन्तरता र गतिशीलतालाई बढाउँदै छौं । जे होस् अब जूनसुकै ठाउँका  पर्यटकहरु आएपनि खाने, बस्ने र होमस्टेको मनोरम आकर्षण अवलोकन गर्न पाउने ब्यवस्था छ ।

कुनै पर्यटक होमस्टेमा आए भने के देखाउनुहुन्छ ? त्यहाँको मूख्य आकर्षण के हो ?
रोल्पाको गुरुङगाउँ अन्य क्षेत्रभन्दा फरक छ । गुरुङहरुको बस्ती, आफ्नै छुट्टै इतिहास र पहिचान बोकेको, आफ्नैखाले सांस्कृतिक रहनसहन, रितिरिवाज आफ्नै खाले छ । सबै भन्दा अमूल्य भनेको एकता छ । जसलाई तोड्न कसैले सक्तैन । त्यसको संरक्षण संबद्र्धन गर्नु हाम्रो पहिलो दायित्व हो । गाउँको माथि टापुमा रमणीय दहचौर छ । जहाँ कुनै समयमा बिमानस्थल बनाउका लागि प्रस्ताव पनि गरिएको थियो । हरिया बन जंगल, साना साना भएपनि खहरेहरु सबै प्रकृतिका सुन्दर देनहरु अवस्थित छन् । होमस्टेमा चाहिने मूलकुरा भनेको अर्गानिक खाना अथवा अर्गानिक कुराहरुको उपभोग गर्नु हो । हाम्रो गाउँमा ती सबैकुराहरु छन् ।

होमस्टे घोषणा र सञ्चालन हुनुमा सबैभन्दा धेरै साथ कसको रहेको छ ? 
पहिलो कुरा त हाम्रो समाजको एकता, क्रियाशीलता, जागरुकता र साथ नै हो । यदि हाम्रो समाजले होमस्टेको आवश्यकता महसुस नगरेको भए कहिल्यै हामी घोषणा गर्न र सञ्चालन गर्न सफल हुने थिएनौं । त्यसैले यहाँका सम्पूर्ण गाउँलेहरुको महत्वपूर्ण योगदान रहेको छ । अर्को कुरा जसले हाम्रो गाउँलाई सम्भावित क्षेत्रको रुपमा पहिचान गरी पहल अघि बढायो जिल्ला विकास समिति रोल्पा । महत्वपूर्ण निर्णय गरेर हामीलाई झक्झक्याउने जुन काममा जिविसको पहलकदमी छ यसलाई हृदयदेखि सराहना गर्छु । यत्तिमात्रै पनि होईन यहाँ क्रियाशील जिल्लाका राजनैतिक दलहरुले पनि हौसला दिएका छन् उनीहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

घोषणा कार्यक्रममा पर्यटन मन्त्री आउने हल्ला भयो तर मन्त्रीको उपस्थिति देखिएन किन यस्तो भएको ? 
मन्त्री आउने भनेर निकै हौसिएका थिए स्थानीय तर नआउने भएपछि केही समय दुःखी भएपनि कसैले चिन्ता भने लिएनन् किन भने सधैंभरी ती मन्त्री नै आएर काम गर्ने होईनन् क्यारे । आखिर गर्ने त स्थानीयले नै हो । हो, एक कुराले हतारिएर निर्णय पनि भयो हावातालमा । हाम्रो होमस्टे उद्घाटनका लागि पर्यटन मन्त्रालयका उपसचिवसँग अनि भैरहवामा रहेको शाखा कार्यालयका प्रतिनिधिहरुसँग मेरो कुराकानी भैरहेको पनि थियो । हाम्रो जिल्लाले कैंयौ विशिष्ट पदका सभासद् पाएको छ । जनताको साथमा उनीहरु पनि त पक्कै आउँथे होला तर हाम्रो हतारको निर्णयले गर्दा लतार भयो । त्यसैले स्थानीय बाहेक कसैको आतिथ्यता हुन सकेन । एक कुराले दुःख पनि लाग्यो किनभने हामीले यो शुभकार्यमा निकै हतार पनि गरेका हौं । हल्ला र हावाको भरमा काम गर्न पुगियो । यो एउटा सिकाईको अवसर पनि हो । आउँदा दिनमा सजगता अपनाईनेछ । तर जे भयो निकै भब्य र शानदार तवरले भयो । जिल्लाका अग्रज राजनीतिक दल, जिविस, उद्योग बाणिज्य संघ सबैले सामुहिक रुपमा उद्घाटन गरेर हाम्रो मानलाई झनै माथि पु¥याइ दिए । अझैं उद्घाटनका दिनमा उनीहरुले धेरै प्रतिवद्धता समेत गरेका छन् । जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरुले हाम्रो उद्घाटन सत्रमा निकै गहकिलो प्रतिवद्धता ब्यक्त गरेका छन् । त्यसैले पनि हामी आशावादी सँगै हर्षित पनि छौं ।

होमस्टे सञ्चालनका लागि वैधानिक प्रक्रिया पुगेको छ त ? 
मैले पर्यटन मन्त्रालय काठमाडौं, भैरहवामा पुगेर आधिकारीक दर्ता गराएर हाम्रो ५ घरको लागि प्रमाणपत्र समेत लिएर जिल्ला विकास समितिको कार्यालयमा दर्ता प्रक्रिया सबै पु¥याएर आएको हो र अझैं उद्घाटनका अवसरमा प्रमुख अतिथिको हातबाटै हामीले प्रदान गर्न लगाएका हांैं । हरेक प्रक्रियागतरुपमा छलफल गाउँभेला, आमभेलाको निर्णय सबै भएको छ । त्यसरी हामीले वैधानिक तवरले सञ्चालनमा ल्याएका छौंं ।

बाहिरीरुपमा कुनै कुनै स्थानमा जिविस अनि एलडियोको चाहनाका कारण गुरुङगाउँमा होमस्टे उद्घाटन भयो भन्ने आरोप छ नि, के भन्नु हुन्छ यसमा ?
होइन, विकास निर्माणका लागि एलडियोले नयाँ अवधारणा ल्याउनु भनेको समग्र जिल्लाकै लागि हो । हो, अन्य स्थानको तुलनामा हाम्रो गाउँमा पहिले नै उद्घाटन भयो तर यसमा हाम्रो समुदायको अग्रसरता हामी सबैको जागरुकता र क्रियाशीलता पनि छ । हाम्रो गाउँ सदरमुकाम नजिकै भएको कारणले पनि सरोकारवाला निकायले निकै पहल गरेका हुन् । अर्को कुरा पर्यटन प्रर्वद्धनका लागि पनि हाम्रो गाउँमा होमस्टे निर्माण हुनुभनेको राज्यलाई पनि फाईदा छ । भोली सदरमुकाम लिबाङमा बाहिरी पर्यटक आएभने उनीहरुलाई नजिकै देखाउने रोल्पाको संस्कृति झल्काउने कुरा के त ? आजभोली समय पनि सबैको हुँदैन त्यस अर्थमा पनि उनीहरुलाई यहाँको लोकल कुरा देखाउन, बुझाउन, सम्झाउनका लागि पनि महत्वपूर्ण रहेको हुन्छ । नजिकै १ घण्टाको पैदल यात्रा हिँडेर गुरुङबस्तीको जाँच गर्न पाएभने उनीहरुलाई पनि र जिल्लालाई पनि फलदायी हुनेछ । त्यसैले विकास निर्माणमा कसैले आरोप प्रत्यारोप गर्न हुँदैन । जे हुन्छ राम्रोका लागि नै हुन्छ ।

होमस्टे घोषणा त भयो यसको दिगो विकासका लागि चूनौती र समस्या के छ ? 
गाउँमा खानेपानीको निकै समस्या छ । उद्घाटनको दिनमै हामीले त्यो समस्या भोग्नुप¥यो । अर्को कुरा बाटो पनि पुग्न सकेको छैन । हुन त होमस्टेका लागि बाटो चाहिँदैन भन्छन् तर विकास निर्माणका लागि बाटो निर्माण हुनैपर्छ । गाउँमा पुग्नका लागि एउटा घोडेटो बाटो छ तर अर्को मोटर बाटोको आवश्यकता निकै छ । अर्को कुरा गाउँको बस्ती अलि टाढा पनि छ । एकैठाउँमा गुजुम्म परेको छैन । र बाँकी कुरा भने मिलाएपछि सबै ठिकै छ ।

होमस्टे सञ्चालनका लागि यहाँहरुसँग अनुभव के छ ? केही तालिम वा भ्रमण गर्नुभएको छ ? 
हो, हामीले खास गरी होमस्ेट सञ्चालन भएका देशका विभिन्न ठाउँहरुको अध्ययन भ्रमण ग¥यौं । माडीचौर जंकोट, थबाङका सबै मिलेर घलेगाउँमा र सिरुबारीसम्म पनि पुग्यौं । त्यहाँ गएपछि धेरै कुराहरु बुझ्ने अवसर मिल्यो । उनीहरुको जस्तो सिको गर्नु भन्दा पनि टिपिकल लोकालिटी जे छ वास्तविकतामा हामीले त्यो देखाउनु पर्छ भन्ने मलाई लागेको छ र ठाउँ ठाउँमा भ्रमणमा जाँदा धेरैकुराहरु बुझ्ने अवसर पनि पाईयो । त्यसैले पनि धेरै उत्साह जागेको छ । त्यहाँका मान्छेहरुले होमस्टेलाई ब्यवस्थित बनाउनका लागि निकै समय खर्चेको कुराहरु पनि बुझियो सकारात्मक परिवर्तन ल्याउन बिस्तारै संघर्ष गर्नैपर्छ । चूनौतीका बाबजुद् पनि हामी सफल हुने कुरामा ढुक्क छौं ।

बजेट तर्जुमाका पक्रिया हुँदैछन् के छ आशा ? 
विकास निर्माणका लागि सबैले साथ दिनैपर्छ । राजनैतिक दलहरुबाट पनि अहिले सम्म कुनै नराम्रो भएको छैन । उनीहरुले साथ दिएकै छन् र आउँदा दिनहरुमा आफूले गरेका प्रतिवद्धता पुरा गर्नका लागि अवश्य पनि लागी पर्नेछन् । बजेट तर्जुमा गर्दा होमस्टेका लागि पनि सोंचविचार गर्ने नै छन् मलाई पूर्ण आशा छ कुनै पनि राजनैतिक दलले खिचातानी गर्नेछैन । किनभने पर्यटन प्रर्वद्धन भयो भने सबैको हित हुनेछ ।
गाउँमा आवश्यक परेका विकास निर्माणका कुराहरु के छन् ?
विकास निर्माणका साथै केही पूर्वाधारहरु अनिवार्य नै भएका छन् । धेरै कुरा आवश्यक नै छ र साथमा हाम्रो पहिचान र संस्कृति झल्काउनका लागि गुम्बा निर्माण, दहचौरमा पार्क निर्माण, भ्यूटावर लगायतको खाँचो छ ।

होमस्टेमा बासका लागि जाने पर्यटकहरुका लागि सुरक्षा व्यवस्था कस्तो छ ? 
हामीले सुरक्षा समिति निर्माण गरेका छौं । त्यसले विभिन्न आचार संहिता पालन गर्नेछ । उनीहरुलाई हामीले तालिम प्रशिक्षण समेत दिनुपर्ने आवश्यकता छ । एकान्तमा भएका घरहरुमा बासका लागि जाने पर्यटकहरुका लागि पनि हामीले सुरक्षा ब्यवस्था बलियो बनाएका छौं र घरमुली जसले होमस्टे सन्चालन गरेका छन् त्यहाँ सबैलाई नीति नियम अनुसार अघि बढाउने छौं । १५ जना भन्दा माथि जाने समूहलाई प्याकेजमा कार्यक्रम प्रदान गरिने छ भने त्यो भन्दा मूनी जानेलाई त्यही अनुसारको ब्यवस्था हुनेछ । समग्रमा होमस्टेको नीति नियम अनुसारका कार्यहरु हामीले गर्नेछौं ।

होमस्टेले त्यहाँका समुदायलाई प्रत्यक्ष के फाईदा दिनेछ ? 
होमस्टेले आय आर्जनमा टेवा पु¥याउँछ । युवा बेरोजगारीलाई हटाउनेछ । स्थानीय संस्कार, संस्कृतिको संरक्षण र संर्बद्धन हुनेछ । त्यहाँका समुदायको शिक्षा, स्वास्थ्य, सरसफाई, सभ्यता सबैले सकारात्मक गति दिनेछ ।

अन्तमा यस पत्रिका मार्फत भन्नै पर्ने ?
हाम्रो यस अभियानको रुपमा थालिएको कार्यलाई सकारात्मक रुपमा प्रचार प्रसार गरिदिनुहुन आम सञ्चार माध्यमलाई आग्रह गर्दछौं । पर्यटन प्रर्वद्धनले देशको अर्थतन्त्रमा जोड दिने भएकाले यसको विकासका लागि सबैको हातेमालो होस् भन्ने अपेक्षा राख्दछु ।
                                                                                                                                 प्रस्तुतिः लोचनमगर
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger