जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पामा आत्महत्याको डरलाग्दो अवस्था

0 comments

घटना नं. १
पूर्वी रोल्पा स्यूरी गाउँ ७ माघको दिन विहे भोजमा मस्त थियो । भोजको आवश्यक काम चलिरहेकै बेला हल्लाखल्ला भो विष सेवनको । स्यूरी वडा नं. ८ का चन्द्र बुढा र दिलकुमारी घर्तीको विहे भोजमा एक्कासी रुवाबासी शुरु भो । कारण थियो आत्महत्या । दुलाहाकै कान्छीआमा मनपुरा गुरुङले विष सेवन गरेपछि भोजमा रमाइरहेका सबै स्तब्ध बने । उपचारका लागि स्थानीयले सबै उपाय अपनाए तर मनपुरा बाँच्न सकेनन् । प्रहरीले मुचुल्का उठायो र पोष्टमार्टम भयो ।
घटना नं. २
आइएससीमा विज्ञान विषय लिई विशिष्ट श्रेणीमा उतिर्ण गरी इन्जिनियरिङको तयारी गरिरहेका लिबाङ–७, रोल्पा निवासी २२ वर्षिय कृष्ण बहादुर डाँगीको १८ पुसको दिन अरु दिनझैं घरायसी कामकाज तथा साथीभाइहरुसँग वित्यो । आफ्नै घरको भूइँतलामा एक्लै बस्दै आएका कृष्ण १९ पुसको बिहान पासो लगाई आत्महत्या गरेको भटियो । परिवार तथा छिमेकीहरुले समेत कल्पना नगरेको घटनाबाट सबै आश्चर्यमा परे । आत्महत्याको कारणबारे सबैले आफ्नै हिसावले लख काटे पनि ‘डिप्रेशन’नै मुख्य कारण भएको कृष्णलाई दश कक्षासम्म पढाएका शिक्षक ओम केसी बताउँछन् । ‘आर्थिक अवस्था कमजोर छ, इन्जिनियरिङमा पहिलो वर्ष असफल पनि भयो’ शिक्षक केसी भन्छन् ‘आफूसँगैका साथीहरु कहाँ कहाँ पुगिसके भन्थ्यो, आफूलाई असफल भएको महसुस गथ्र्यो, तर आत्महत्या नै गर्ला भन्ने सोचेकै थिएनौं ।’ उनका बुवा जिल्ला प्रहरी कार्यालयमा भान्सेको काम गर्छन् ।
यी दुई रोल्पाका प्रतिनिधि मुलक घटना हुन् । विष सेवन तथा झुण्डिएर मर्नेको संख्या रोल्पामा तीब्र रुपमा बृद्धि भइरहेको छ । ‘धनि, गरिब, महिला, पुरुष, बालबालिका सबैले आत्महत्या गरिरहेकोले मनोसामाजिक परामर्श नै यसको उत्तम उपाय हो’ रोल्पाका प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले भने ‘यसका लागि हरेक मान्छेले सकारात्मक सोचको विकास गर्नुपर्छ ।’ एकैदिनमा तीन जनासम्मले आत्महत्या गरेको रेकर्ड प्रहरीमा छ । यस विषयमा सदरमुकाममा सानोटिनो गोष्ठी गरिए पनि खासै उल्लेख्य गतिविधि भने गरिएको देखिदैन ।
कतिपय रेकर्डमै आउँदैनन्
केही वर्षअघि पाछाबाङ–२ मा दुई महिलाले रुखमा झुण्डिएर एकैपटक आत्महत्या गरे । तर त्यो घटना प्रहरीको रेकर्डमा आएन । सदरमुकामबाट २८ कोष टाढा रहेको पाछाबाङबाट लाश पोष्टमार्टमका लागि ल्याउन झण्डै एकदिन लाग्छ । खर्च पनि हुन्छ नै । झुण्डिएर मरेको सबैले देखेको भन्दै घरपरिवार, आफन्त र छरछिमेकले प्रहरीमा खबर नगर्ने सल्लाह गरे र पोष्टमार्टम नगरी दाहसंस्कार गरेको छिमेकी कमल बुढामगर बताउँछन् । धेरै आत्महत्याका घटनाबारे प्रहरीलाई जानकारी नै दिइन्न । जो प्रहरी तथ्यांकमा हुँदैन । पोष्टमार्टमका लागि सदरमुकाममा रहेको जिल्ला अस्पतालसम्म लैजाँदा खर्च धेरै हुने भएकोले पनि कतिपयले त्यो प्रक्रिया नअपनाउने धबाङका गोविन्द बुढामगर बताउँछन् । जनचेतनाको अभाव तथा नकारात्मक सोचाईका कारण पनि आत्महत्या बढेको मनोसामाजिक विशिषज्ञ बताउँछन् । स्थानीय सञ्चार माध्यमले आत्महत्याका समाचार प्रकाशन प्रसारण गर्दैनन् । प्रकाशन प्रसारण गर्दा त्यसबाट मानिसहरुले नकारात्मक कुरा मात्र ग्रहण गर्ने भएकोले पनि यस्तो नगरिएको स्थानीय पत्रकार देवी गुरुङ बताउँछिन् ।
बढ्दो अवस्था
विगत केही वर्ष अघिदेखिको जिल्लामा आत्महत्याको अवस्था हेर्दा बढ्दो मात्रामा देखिन्छ । आर्थिक वर्ष २०७०÷०७१ मा ४३ जनाले आत्महत्या गरेका थिए । जसमा विष सेवनबाट १७, झुण्डिएर २४, हतियारबाट १ र हाम फालेर १ जनाले आत्महत्या गरेको प्रहरीमा तथ्यांक छ । त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ मा झुण्डिएर २८ र विष सेवनबाट १३ गरी ४१ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा झुण्डिएर ४३ र विष सेवनबाट २३ गरी ६६ जनाले आत्महत्या गरे । चालु आर्थिक वर्ष २०७३÷०७४ को माघसम्ममा ३८ जनाले आत्महत्या गरिसकेका छन् । जसमा १४ महिला र २२ जना पुरुष छन् । यो वर्षको सबैभन्दा धेरै भदौमा आठ जनाले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए । नेपालमा औसत पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गरेको पाइए पनि रोल्पामा भने ठीक उल्टो पुरुषहरुले बढि आत्महत्या गरेका छन् ।
झुण्डिएर धेरै
आर्थिक वर्ष २०७० यताको घटना तथ्यांकलाई हेर्दा रोल्पामा सबैभन्दा बढि झुण्डिएर मर्नेको संख्या देखिन्छ । चालु आ.व. बाहेक विगत तीनवर्षको तथ्यांकअनुसार १ सय ४८ जनामा ९५ जना झुण्डिएर मरेका छन् भने ५३ जनाले विष सेवन गरेका छन् ।
के छ नेपालको अवस्था
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार संसारभर बढि आत्महत्या गर्ने मुलुकहरुमध्ये नेपाल सातौं स्थानमा पर्छ । आत्महत्यामा महिला तथ्यांक हेदा नेपाल तेस्रो स्थानमा छ । नेपालमा औसत आठ हजार ६ सय ४० जनाले वर्षेनी आत्महत्या गर्छन् ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger