जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

अलैंची खेतीतर्फ रोल्पाका कृषक आकर्षित

0 comments

१० माघ, रोल्पा 
अलैची खेतीतर्फ रोल्पाका कृषकहरु आकर्षित हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अलैचीको विरुवा कारोबार उच्च हुनुले पनि यसतर्फ कृषकको आकर्षण धेरै रहेको जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । अलैंची एक मसला बाली हो यसलाई नगदे बालीका रुपमा लिईएको छ । यसबाट प्रत्यक्षरुपमा आय आर्जन गर्न सकिने भएकाले यस तर्फ रोल्पाका किसानहरुको आर्कषण बढ्न थालेको छ । 

पन्ध्रलाख बढिको नर्सरी
नर्सरीबाट अलैचीको विरुवा उत्पादन गर्दै आएका लिबाङका कृषक ऋषिराम रोकाले यस आर्थिक वर्षमा मात्रै १५ लाख बढिको विरुवा उत्पादन गरेको बताए । ‘अलैचीको माग रोल्पामा धेरै छ’ रोकाले भने ‘उत्पादन गरिएका विरुवा विक्दैन कि भन्ने शंकै छैन ।’ उनले धेरै विरुवा विक्रि भइसकेको समेत बताए । जिल्ला कृषि विकास कार्यालयसँगको सहकार्यमा नर्सरी राख्दै आएका ऋषिराम रोकाले अलैची विरुवा उत्पादनबाट मनग्ये आम्दानी भइरहेको र उत्पादनको तुलनामा माग धेरै रहेको बताए ।

रोल्पा सदरमुकाम लिबाङ–७, मेबाङमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराको पुस्तेनी बाँजो खेतलाई उपयोग गर्दै रोकाले लाखौंको अलैंची उत्पादन गर्दै आएका छन् । परिवारले नै उक्त काम सञ्चालन गरिरहेको उनको भनाई छ । अलैचीका अलवा विभिन्न प्रजातिका बोटविरुवा तथा तरकारी समेत खेती गर्दै आएको रोकाले बताए । 

२०७२ सालमा राष्ट्रपति कृषक पुरस्कारबाट समेत पुरस्कृत भइसकेको ऋषिराम रोका रोल्पाको उदाहरणीय कृषक भएको लिबाङका फविन्द्र आचार्य बताउँछन् । अलैचीको मूल्य धेरै भएको तथा उत्पादनका लागि भौगालिक बनावट पनि उपयुक्त भएकोले यसतर्फ कृषकहरु आकर्षित भएको धबाङका गोविन्द बुढा बताउँछन् । ‘हामी गाउँमै पनि धेरै अलैची खेती गरिरहेका छौं’ उनले भने ‘रोल्पा अलैचीको सम्भावित पकेट एरिया नै हो ।’ कृषकलाई आवश्यक व्यवसायिक ज्ञान भने दिनुपर्ने बुढाको भनाई छ । 

अलैची बहुवर्षे बाली भएकाले पनि खेती गर्दा समय अलि धेरै लाग्ने कृषक ऋषिराम रोका बताउँछन् । प्रथम वर्ष र दोश्रो वर्ष गरी दुई पटक नर्सरी गर्न सकिने र विभिन्न प्राविधिक जानकारी नभएपछि नर्सरीखेती फस्टाउन नसक्ने भएकाले यसतर्फ विशेष जानकार हुनुपर्ने अगुवा कृषक रोकाको अनुभव छ ।

पचास प्रतिशत अनुदान
जिल्ला कृषि विकास कार्यालय रोल्पाले आवश्यक प्रक्रिया पु¥याई कार्यालयमा आएमा पचास प्रतिशत अनुदानमा विरुवाहरु उपलब्ध गराइने बताएको छ । बिगतमाझैं यसपटक पनि पचास प्रतिशत अनुदानमा नर्सरी विरुवा विक्रि वितरण भइरहेको कार्यालयले जनाएको छ । प्राविधिक ज्ञान नपुगेमा गुणस्तरीय बिरुवा उत्पादन गर्न असहज हुने भएकाले स्वस्थ र गुणस्तरीय बिरुवा उत्पादनका लागि कार्यालयले कृषकलाई आग्रह समेत गरेको छ । 

सात मेट्रिकटन उत्पादन
यस आर्थिक वर्षमा मात्रै जिल्लाका ७० हेक्टर क्षेत्रफलमा ७ मेट्रिकटन अलैंची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रोल्पाका बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । ‘अलैंचीका लागि रोल्पा निकै सम्भावित क्षेत्र हो’ अधिकृत श्रेष्ठले भने ‘यहाँको भुगोल प्राविधिक रुपमा पनि अत्यन्तै उत्तम रहेको छ ।’ उत्तरी मोहडा चिस्यान कायम भएको क्षेत्रमा अलैंचीखेतीको उत्पादन राम्रो हुने श्रेष्ठको भनाई छ । अलैंची उत्पादनमा आत्मनिर्भर गराउनका लागि कार्यालयले  बिशेष जोड दिएको समेत श्रेष्ठले बताए ।

विगतभन्दा उत्पादन बृद्धि
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अलैंची खेतीको उत्पादन बढ्दै गईरहेको जिल्ला कृषि विकास कार्यालय रोल्पाका बागबानी अधिकृत हरिप्रसाद पाण्डेले बताए । अहिलेसम्म जिल्लाका धबाङ, ह्वामा, जैमाकसला, जेल्बाङ, हार्जङ, उवा, कोर्चाबाङ अलैंची उत्पादनका पकेट क्षेत्र भएको र सिउरी, तालाबाङ, जंकोट, गुम्चाल, घर्तीगाउँ, कोटगाउँ, गैरीगाउँ जस्ता सम्भावित गाविसहरुमा पनि उत्पादन कार्य प्रारम्भ भएको पाण्डेले बताए । तर अलैंची उत्पादनका लागि चिस्यान कायम हुनुपर्ने अर्थात सिंचाई गर्न आवश्यक रहेको उनको भनाई छ । ‘पहाडी जिल्ला भएकाले र यहाँ सामान्यतया ७ सय मिटर देखि २१ सय मिटरसम्म खेती गर्न सकिन्छ’ पाण्डेले भने । गत सालको उत्पादन भन्दा यो वर्ष बिस्तारै बढ्दै गएकाले पनि कृषकहरु यस खेतीप्रति थप आकर्षित हुँदै गएको पाण्डे बताउँछन् । ‘सुख्खा रुपमा यसको उत्पादन हुने भएकाले कम ओजनदार र बढी मूल्यको बाली रहेको छ’ पाण्डेले भने ‘अलैची उत्पादनकै क्षेत्रमा काम गरेकाले पनि आफूलाई रोल्पा पकड क्षेत्र बन्छ भन्ने लाग्छ ।’ 

अलैची उत्पादनमा ताप्लेजुङ अगाडि 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकका अनुसार रोल्पामा केही वर्षयता अलैंची उत्पादन शुरु भएतापनि इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, दोलखा, लमजुङ,  बाग्लुङ, पर्वत र स्याङ्जामा अलैंची अत्याधिक उत्पादन हुन्छ । सबैभन्दा बढी पूर्वाञ्चलमै उत्पादन हुने गरेको केन्द्रको तथ्यांक छ । जिल्लागत रूपमा अलैंची उत्पादनमा ताप्लेजुङ सबैभन्दा अगाडि छ । ताप्लेजुङमा ४ हजार ५ सय, संखुवासभामा ३ हजार ५ सय ७०, पाँचथरमा २ हजार १ सय ७० तथा इलाममा १ हजार ५ सय ९ हेक्टरमा अलैंची खेती भइरहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger