जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

पर्यटक तान्दै गुरुङगाउँ होमस्टे

0 comments

७ माघ, रोल्पा ।
जिल्ला सदरमुकाम लिबाङबाट पैदल डेढ घण्टामा पुगिन्छ गुरुङगाउँ । मुख्य गाउँसम्म साना गाडीहरु समेत जानसक्छन् । गुरुङहरुको मात्र बसोबास भएकोले पनि यो गाउँलाई गुरुङगाउँ नाम दिइएको बृद्धबुद्धाहरु बताउँछन् । सबै किसिमका सामाजिक काममा ‘एकधुर’ भएर लाग्ने यो गाउँको विशेषता नै हो । रोल्पा यसैपनि दशवर्षे जनयुद्धबाट विश्वसामु परिचित छ । तर यसभित्र रहेका थुप्रै बलियो पर्यटन आधारहरुमध्ये होमस्टे पनि एक हो ।

मध्यपश्चिमकै पहिलो पहाडी होमस्टे
गुरुङगाउँ सामुदायिक होमस्टे मध्यपश्चिमाञ्चल क्षेत्रकै पहिलो पहाडी होमस्टे हो ।  २०७० सालमा स्थापना गरिएको यो होमस्टे रोल्पाको सम्पत्तिकै रुपमा विकास भइरहेको जिविस रोल्पाका पर्यटन फोकल पर्सन दिपक डिसी बताउँछन् । रोल्पा घुम्न आउनेहरुका लागि पनि यो एउटा राम्रो गन्तब्य बनिरहेको छ । थोरै समय लिएर रोल्पा घुम्न आउनेहरुका लागि पनि सामुदायिक होमस्टे प्रभावकारी भएको डिसी बताउँछन् । होमस्टेमा पर्यटनमन्त्री आनन्द प्रसाद पोख्रेल समेत पुगेर मकै खाजा खाँदै होमस्टेको प्रशंसा गरिसकेको स्थानीय देवी गुरुङ बताउँछिन् ।

होमस्टेको विशेषता
यहाँ विशुद्ध अर्गानिक कुराहरुलाई प्राथमिकता दिइन्छ । खानपानदेखि मनोरञ्जनसम्म अर्गानिक किसिमले हुन्छ । मकै, गहुँ, कोदो, फापर आदिको ढिँडो तथा रोटी, सिस्नुको सुप, गुन्द्रुकको अचार, भटमासको चटनी, तामाको अचार, स्थानीय उत्पादित सागपात, दूध दही, माछा मासु, मकै खाजा लगायत सबै कुराको स्वाद यहाँ पाइने गुरुङगाउँ सामुदायिक होमस्टेका अध्यक्ष हरिजङ गुरुङ बताउँछन् । ‘यहाँ आउने कुनै पनि पाहुनालाई हामी निरास बनाउँदैनौं’ अध्यक्ष गुरुङले भने ‘अर्गानिक बस्तुको उपभोग तथा स्थानीय संस्कृतिको चिनारी नै यहाँको मुख्य विशेषता हो ।’ होमस्टे पुग्नेहरुलाई विशेष तरिकाले स्वागत गरिन्छ । मकैको थोटालाई रङ लगाई उनिएको मालाले स्वागत गर्दा पर्यटकले अनौठो महसुस गर्ने सचिव पवित्रा गुरुङ बताउँछिन् । 

प्राकृतिक सौन्दर्य
सामुदायिक होमस्टे गुरुङगाउँ आफैमा सुन्दर छ । गुरुङगाउँको शिरैमा रहेको दहचौर पुग्दा जो कोहीले आफैलाई भूल्छ । घना जंगलको बीचमा आफै आफै रमाइरहेको दहचौरमा पुगेर बतासिनु पनि छुट्टै आनन्द हुने त्यहाँ पुगेका हर्क घर्तीमगर बताउँछन् । दहचौरबाट देखिने धौलागिरी क्षेत्रका विभिन्न हिमश्रृङ्खला पनि निकै मनमोहक देखिन्छ । मौसम अनुसार वनभरि फूलेका लालीगुराँस, काँफल टिप्दै रमाउनुको बेग्लै मजा हुने त्यहाँ पुगेकाहरुको अनुभव छ ।

प्रचुर पर्यटन सम्भावना
थबाङ, जलजला जस्ता क्षेत्रमा पुग्न यातायातको सुविधा नभएकोले पनि सदरमुकाम नजिकैको गुरुङगाउँ होमस्टेले त्यो अभावलाई पूरा गरिदिएको पत्रकार काशीराम डाँगी बताउँछन् । जिल्लामा हुने विभिन्न सभा, गोष्ठी तथा तालिमहरु समेत होमस्टेमै केन्द्रीत गरिएकोले विकासमा थप टेवा पुगेको जिल्ला विकास समितिका पर्यटन फोकल पर्सन दीपक डिसी बताउँछन् । ‘रोल्पामा पर्यटनको सम्भावना प्रचुर भए पनि यातायात, विद्युत लगायत विभिन्न कारणले संस्थागत विकासमा समस्या भएको छ ।’ डिसी भन्छन् ‘ती सबैका बाबजुद तत्कालका लागि राम्रो पर्यटकीय गन्तब्य होमस्टे नै हो ।’ २०७० सालमा आधिकारिक दर्तासहित सञ्चालनमा आएको यो होमस्टेमा पुग्नेहरुलाई गुरुङ समुदायले गर्ने स्वागत सत्कार नै आकर्षक छ । स्थानीय रुपमा उत्पादित विभिन्न परिकारसँगै गाउँमा गठित आमा समूह, बुवा समूह तथा गुरुङ युवा क्लवले समेत पाहुनाहरुको भरपुर सांस्कृतिक मनोरञ्जन गर्ने प्रदान गर्दछन् ।

दश घरमा सञ्चालन हुँदै
विकासका पूर्वाधारहरु अझै पनि पर्याप्त भइसकेको छैन, तै पनि जिल्लामा हुने विविध गतिविधि केन्द्रित गर्दा होमस्टेको आकर्षण भने बढ्दो मात्रामा छ । केहीसमयभित्रै १० घरमा होमस्टे सञ्चालनको तयारी भए पनि अहिलेसम्म भने ५ घरमा मात्र सञ्चालन गरिएको सामुदायिक होमस्टे गुरुङगाउँका अध्यक्ष हरिजङ गुरुङ बताउँछन् । ‘होमस्टे (घरबास) कार्यक्रमले आयआर्जनमा निकै सहयोग गरेको छ’ अध्यक्ष गुरुङ भन्छन् ‘यसमा अझै पनि सरोकारवाला निकायहरुको चासो आवश्यक छ ।’ होमस्टे सञ्चालन गर्नु बाहिरबाट हेर्दा सजिलो देखिए पनि भित्रिरुपमा निकै चुनौती रहेको सञ्चालक समितिका उपाध्यक्ष हीरा घले बताउँछिन् । सञ्चालकहरु भन्छन् ‘विभिन्न खाले मान्छे आउँछन्, ती सबैलाई व्यवस्थापन गर्दा समस्या हुन्छ ।’

वनभोज, तालिम जस्ता कार्यका लागि होमस्टे उपर्युक्त भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बताउँछन् । यता होमस्टे सञ्चालकहरु भने मोटरबाटोको अभाव, खानेपानीको अपर्याप्तता, होमस्टे प्रवद्र्धनका लागि आवश्यक तालिमको अभाव जस्ता समस्याहरु रहेको बताउँछन् । हामेस्टे पर्यटन प्रर्वद्धनका लागि विभिन्न तालिमहरुको आयोजना हुनुपर्ने सरोकारवाला निकायहरुले प्रतिवद्धता व्यक्त गरे पनि १ वर्षको अवधिमा भनेजस्तो सहयोग नपाउँदा होमस्टे प्रर्वद्धनमा समस्या थपिएको सामुदायिक होमस्टे गुरुङगाउँका अध्यक्ष हरिजङ गुरुङको भनाई छ । 

समस्या पनि उस्तै
मोटरबाटोसँगै गाउँमा खानेपानीको समस्या पनि उत्तिकै रहेको छ । ‘आयआर्जन त राम्रै छ तर खानेपानी लगायतका अभावहरु छन् ।’ होमस्टे सञ्चालन गरिरहेकी पवित्रा गुरुङले भनिन् ‘कहिलेकाँही त पाहुनालाई खुवाउने पानी पनि हुँदैन, समस्या छ ।’ आफ्नो मौलिक संस्कार र संस्कृति लोप भईरहेको समयमा युवाहरुलाई जागरुक बनाउने अभियानमा लागेका सिंगारु नाचका संयोजक मानबहादुर गुरुङको दुखेसो पनि उस्तैछ । उनले भने ‘पश्चिमा संस्कृति भित्रिन लागेको बेला मौलिक कला बचाउन निकै कठिन छ ।’ युवाहरुलाई सचेतना तालिम दिन पाए केही रुपमा भए पनि मौलिकता बच्ने उनको भनाई छ । सदरमुकाम लिबाङ नजिकै रहेको सामुदायिक होमस्टेकै प्रवद्र्धनका लागि जिल्ला विकास समितिको कार्यालय रोल्पाले पनि पहल गरिरहेको छ । 
दहचौरलाई पार्कस्थल बनाउने, गाउँको माथिल्लो भागमा भ्यूटावर राख्ने, गुम्बा निर्माण गर्ने जस्ता कामहरु विस्तारै अगाडि बढिरहेको अध्यक्ष गुरुङ बताउँछन् । राजनीतिक पूर्वाग्रहका कारण पनि होमस्टेको सोचेजस्तो विकास हुन नसकेको होमस्टे सञ्चालक समितिका कोषाध्यक्ष पहलबहादुर गुरुङको भनाई छ ।

होमस्टेको मुहार फेरिँदै
आर्थिक वर्ष २०७३÷०७४ मा गुरुङगाउँ होमस्टेका लागि २ करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ । सञ्चालक समितिको क्रियाशीलता र विभिन्न निकायमा गरिएको मागका आधारमा आ.व. २०७३÷७४ का लागि गुरुङगाउँ सामुदायिक होमस्टेको मुहार फेरिने भएको हो । एक शहर एक पहिचान अन्तर्गत लिबाङ नगरपालिकाको गुरुङगाउँमा बहु उद्देश्यीय सामुदायिक भवन निर्माणका लागि ९५ लाख र पूवार्धार विकास गर्न एक करोड ९० लाख रुपैंयाँ शहरी विकास तथा भवन डिभिजन कार्यालय मार्फत् अख्तियारी आएको होमस्टेका अध्यक्ष हरिजङ गुरुङ बताउँछन् । गुरुङगाउँ सामुदायिक होमस्टेको प्रर्वद्धनका निम्ति एवम् पर्यटन प्रर्वद्धनका लागि यसरी केन्द्रीय योजना आएपछि गुरुङगाउँबासी खुशी भएका छन् ।

अर्कोतिर पर्यटन प्रर्वद्धनको बहुआयामिक क्षेत्र होमस्टेलाई रोल्पाको पहिलो सदरमुकाम लिबाङसँगै जोडेर हेर्दा आन्तरिक पर्यटकहरुको संख्या प्रत्येक महिनामा बढ्दै गईरहेको छ । २०७२ सालदेखि झनै पर्यटकहरु भित्रने क्रम निरन्तररुपमा चलिरहेको होमस्टे सञ्चालक मानबहादुर गुरुङले बताउँछन् । आर्थिक उपार्जनसँगै गाउँको विकास पनि जोडिएको भन्दै ५ घरधुरीका होमस्टे सञ्चालकहरु यति बेला हौसिएका छन् । यस आर्थिक वर्षमा अझैं अन्य ५ घरधुरी थप गरिने सञ्चालक समितिका उपाध्यक्ष हिरा घलेले बताइन् । ‘केही घरधुरीहरु यसको तयारीमा जुट्दैछन्’ उनले भने ।

पर्यटन प्रवद्र्धनका लागि होमस्टे राम्रो गन्तब्य बनिरहेको छ । विविध चुनौतीका बाबजुद् पनि निरन्तर सञ्चालन भइरहेको होमस्टेले स्थानीय सञ्चालकहरुको आयस्तरमा बृद्धि त गर्छ नै जिल्लालाई समेत पर्यटकीय दृष्टिकोणले स्थापित गर्दछ । समुदायको सकारात्मक सहकार्य तथा पहल कदमी र सरोकारवाला निकायहरुको प्राथमिकता हुने हो भने होमस्टे आन्तरिक तथा बाह्य पर्यटकका लागि राम्रो गन्तब्य बन्न सक्छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger