नवीन लोचनमगर |
एकताका मूस्कानसहितको सेवाको अवधारणा ल्याएर चर्चामा आएको प्रहरी नागरिकसँग कसरी नजिक बन्न सकिन्छ भन्नेबारेमा हरदम प्रयासरत रहेको देखिन्छ । मूस्कानसहितको सेवाको सन्दर्भमा क्रिया प्रक्रिया व्यापक भएको थियो । नागरिकहरुलाई प्रहरीको त्यही अभियानले खुलेर प्रहरीसँग छलफल गर्न केही वातावरण बन्यो । भर्खरै फेरि अर्को ‘प्रहरी मेरो साथी’ अभियान सार्वजनिक गरिएको छ । यस्तो अभियानले खासगरि रोल्पाजस्ता जनयुद्धबाट प्रत्यक्ष प्रभावित जिल्लाहरुलाई प्रहरीसँग नागरिकको सम्बन्ध अझै व्यापक हुने अपेक्षा छ ।
ग्रामीण भेगमा अझै पनि प्रहरीप्रतिको नकारात्मक दृष्टिकोण बाँकी छ । त्यसलाई मेटाउनका लागि प्रहरी स्वयम्को नागरिकमैत्री सेवा प्रवाह त छ नै नागरिकले पनि प्रहरी जनताको रखवारीका लागि खटिएका हुन् भन्ने कुरा बुझ्न आवश्यक छ । कतिपय ठाउँमा प्रहरीप्रति अलि धेरै नै अपेक्षाहरु हुन्छन् । खासगरि प्रहरीको क्षेत्राधिकार बाहिरका विकास निर्माणका कार्यहरुमा पनि पहल गरिदेओस्, भनसुन गरिदेओस् भन्ने अपेक्षा पनि हुन्छन् । तर प्रहरीको मुख्य दायित्व भनेकै नागरिकको सुरक्षाप्रति जिम्मेवार हुनु हो ।
धेरै कुराहरु कानूनतः बन्देज गरिएका चिजहरु पनि बन्देज हुन सकिरहेका छैनन् । अनाधिकृत मदिरा उत्पादन तथा विक्रिवितरण, अवैध चोरी पैठारी, सार्वजनिक ठाउँमा धुम्रपान, कानूनले रोक लगाएका हातहतियारको प्रयोग, विभिन्न हिंसाजस्ता कुराहरुलाई नियन्त्रणका लागि प्रहरी निरन्तर लागिरहेको भए पनि त्यसको प्रभावकारी परिणाम देखिन सकेको छैन । जसका कारण समाजमा सामाजिक एवं घरेलु हिंसा, अपराधिक क्रियाकलाप अझै ज्यूँका त्यूँ छन् । युवाहरुमा अपराधिक मानसिकता बढ्दो छ । बेरोजगारी व्याप्त छ भन्नुको नाममा मान्छेहरु श्रम गर्नबाट पछाडि हटिरहेको छ । यी सब कुराको नियमन नागरिकको पनि दायित्व हो ।
प्रहरी आफै पनि धेरै कुरामा सचेत हुन जरुरी छ । प्रहरीलाई कुण्डले मुण्डले, गुण्डा, लफङ्गा मान्छेहरुसँग साँठगाँठ गरेको आरोप लाग्ने गर्छ । सत्ता र शक्तिको अगाडि प्रहरी निरह बन्ने गरेको अनुभव सर्वसाधारण नागरिकले गर्दै आइरहेका छन् । अझ प्रहरी स्वयम्ले ‘म फलानो नेताको पावरमा यहाँ आएको हुँ’ भन्ने अभिव्यक्ति तल्लोस्तरका अधिकृतले दिएको मैले आफै पनि सुनेको छु । प्रहरी आफैले अत्यधिक जाँडरक्सी सेवन गर्ने, जुवाताँस खेल्ने जस्ता कार्य गरेको पनि नौलो विषय होइन । अझ जिल्लाका उच्च प्रशासकहरु सामान्य नागरिकको घरमा बसेर खुलेआम मदिरा सेवन गर्ने, भाँडभैलो मच्चाउने गरेको पनि यदाकदा नसुनिएका होइनन् । यस्ता कार्यले प्रहरी र जिल्लाका ठूला अरु प्रशासकहरु प्रतिको विश्वास कसरी रहनसक्छ ?
नागरिककै लागि खटिएकाहरुले नागरिकको काममा अनावश्यक दुःख दिने, झर्किने, थर्काउनेजस्ता कार्यले पनि नागरिक र सेवा प्रदायक संस्थाका प्रशासकहरुसँगको सामीप्यता नजिक हुन सकेको छैन । यसमा नागरिकको सचेतता र प्रशासक एवम् प्रहरीको नागरिकमैत्री सेवाले सम्बन्ध सुदृढ हुनसक्छ । हरेक समाजमा आफ्ना संस्कार
संस्कृति छन् । हरेक नागरिकमा आफ्नै खालको आदतको सत्ता छ । स्वतन्त्रताको नाममा कानूनको बर्खिलापमा उभिन पनि मान्छे तयार भइरहेको हुन्छ । बोलवालाको शासन कासन अझै चल्छ, चलाइन्छ । तर सोझो, इमान्दार, श्रमजीवी मान्छे अझै अन्यायमा परिरहेको छ ।
व्यवहारिकता मिलाउनेको नाममा हुने कतिपय अस्वभाविक कार्यले सर्वसाधारण नागरिकलाई प्रहरीप्रति थप सशंकित बनाउँछ । प्रहरीकहाँ पुगेर मात्र मेरो सुरक्षा सम्भव छ भन्ने महसुस हरेक नागरिकले गर्न सक्नुपर्छ । गाउँमा एउटा नमिठो भ्रम जबरजस्त छ । ड्राइभर र प्रहरीसँग छोरीचेली डराउने र अभिभावक विस्वस्त नहुने स्थिति अझै पनि गाउँमा बाँकी नै छ । यसलाई विश्वासिलो वातावरण बनाउने काम तपाई ड्राइभर प्रहरीको नै हो नि ? नागरिक र प्रहरीबीचको यी खाडललाई पुर्नका लागि प्रहरी स्वयम् जति कस्सिए पनि सम्भव छैन । त्यसको लागि नागरिक सचेतना र प्रहरी जति जनताको बीचमा पुग्न सक्यो त्यति समाज सुध्रिने र प्रहरी जनता बीचको सम्बन्ध बलियो हुने हो ।
प्रहरी मेरो साथी भन्ने भावना हरेक नागरिकमा जगाउन जरुरी छ । नागरिकसँगको साक्षात्कारका सम्बन्धमा कुन माध्यमले प्रभावकारिता ल्याउनसक्छ भन्ने बारेमा अलि बढि मेहनत प्रहरीले नै गर्नुपर्छ कि !
–२०७३ असार २८ गते मंगलबार प्रकाशित
Post a Comment