जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

सिन्डिकेट प्रणालीको अन्त्य र सडकको स्तरोन्नती जरुरी

0 comments

नवीन लोचनमगर
समय समयमा आउने सडक दुर्घटनाको खबरले नेपालीलाई शोकाकुल बनाउँछ । नेपालको न आकाश सुरक्षित छ न जमिनका सडक । हवाई दुर्घटनामा पनि पछिल्लो समय धेरै मानवीय क्षति हुँदै आएको छ । सडक दुर्घटना नभएर र मानवीय क्षति नभएको झन् कुनै दिननै छैन होला । सडक दुर्घटना जति धेरै भए पनि दुर्घटनाको कारण पत्ता लगाई दीर्घकालीन समस्या समाधानमा भने त्यति चासो दिइएको पाइँदैन । पहाडको साघुँरो बाटोमा यातायातका साधन चलाउन चानचुने छँदै छैन । तर ती चालकहरुको सानो गल्तीले कैयौं मान्छेहरुको ज्यान गुम्छ ।

सोमबारमात्रै काभ्रेको बिर्ता देउरालीमा ठूलो सडक दुर्घटना भयो । बस दुर्घटनामा परी ३३ जनाको ज्यान गयो भने ४० बढि घाइते भएको खबर छ । ना ३ ख १०६ नम्बरको अरुण यातायातको बस काठमाडौंबाट दोलालघाट जाँदै गर्दा दुर्घटना परेको थियो । असाध्य लोड बढि भएकोले उकालोमा तान्न नसक्दा दुर्घटना भएको बताइन्छ । बस व्याक गर्दा ब्रेक नलागी सिधै भीरमा झण्डै ३ सय मिटर तल पुगेको स्थानीयको भनाईलाई उदृत गर्दै समाचारहरुमा उल्लेख छ । दुर्घटनाको खबर पाएलगत्तै प्रधानमन्त्रीले गृहमन्त्रालयलाई तत्काल उद्दारका लागि पहल गर्न आदेश दिएका थिए । मृतकलाई ५ लाख र घाइतेलाई उपचार खर्चमा सहयोग गर्ने आश्वासन गृहमन्त्रीले दिए ।

यतिबेला मुलुक शोकमग्न छ । अझ पूर्वी नेपाल शोकको भूमरीमा छ । सडक दुर्घटनाबाट नेपाली शोकाकुल हुनुपर्ने विवशता कहिलेसम्म हुन्छ ? यो प्रश्नको उत्तर हामी कसैसँग छैन । सरकारले अन्य विविध विषयमा अरबौं लगानी गर्छ तर यातायात व्यवसायी, यातायात कर्मचारीहरुलाई उनीहरुको सचेतना अभिवृद्धितर्फ कहिल्यै चासो लिइएको देखिदैन । १ सय रुपैयाँको अगाडि प्रहरी पनि विक्छ । र जस्तोसुकै सामान तथा यात्रुहरुलाई पनि कोच्नको लागि सहयोगै गर्छ । कतै कतै अलि कडा गरिएको बहाना बनाइए पनि आँखा अगाडि झरेर केही मिटर हड्ने वा भित्र कोचिने त्यसपछि बसको छटभरि झुण्डिने रोग नेपाल भरिनै छ ।

यातायात दुर्घटना हुनुमा सबैभन्दा ठूलो समस्या भनेकै सिन्डिकेटजन्य गुन्डागर्दी नै हो । यातायात व्यवसायीको स्वस्थ प्रतिष्पर्धा तथा यात्रुमैत्री वातावरण बनाउनुमा यातायात व्यवसायी एवम् सरोकार राख्ने समितिहरु कहिल्यै गम्भिर भएनन् । आफ्नो अनुकुलता नभए गाडी तोडफोड गर्ने, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने, आफ्नो इलाकामा मनपरि गर्ने जुन यातायात व्यवसायीहरुको मनपर्दो गुन्डागर्दी छ त्यसलाई नियन्त्रण गर्नु नै पहिलो सुधार हुनेछ । 

सबै कुरालाई ध्यानमा राख्दै भाडा निर्धारण गरिँदैन । मनपरि भाडा असुली, गाडीभित्रै पनि चालक सहचालकहरुको दादागिरी लगायतका कुरालाई रोक्न कसले पहल गर्ने ? मादक पदार्थ सेवन गरेर, खैनी सुर्ती प्रयोग गरेर यात्रा गर्नेहरुलाई कडाईका साथ निगरानी गर्दै आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाउन जरुरी छ । राम्रो छँदासम्म आँखा चिम्लेर हिड्ने विग्रिएपछि राम राम भन्ने यातायात व्यवसायीहरुको परम्परा पनि अब सुध्रिनु आवश्यक छ । चालक हुनलाई लामो कपाल पाल्नैपर्ने, मुन्द्रा लगाउनैपर्ने, हान्ने राँगोले झैं हेर्नुपर्ने, मदिरा सेवन गर्नुपर्ने, समितिहरुले गुन्डाहरुलाई पछि लगाउने, के यातायात व्यवसायीहरुको कानूनमै यस्तै गर्नुपर्ने छ र ?

अर्कोकुरा राज्यले यातायात मजदुरहरुलाई प्रशिक्षित गर्न जरुरी छ । बदलिँदो प्रविधिको विकाससँगै यातायातका साधनको विकास (अपग्रेड)मा पनि सोच्न जरुरी भइसकेको छ । राम्रो रङ लगाएर चम्काउँदैमा त्यो साधन राम्रो हुँदैन, जुनसुकै बस्तुको पनि प्रयोग गर्नका लागि निश्चित मिति तोकिएको हुन्छ । यातायातका साधनहरु पनि कतिसमयसम्म सञ्चालन गर्न पाउने भन्ने सन्दर्भमा निश्चित मापदण्ड हुन आवश्यक छ ।

अन्तमा, सिन्डिकेटको पूर्ण अन्त्य गर्नु, सडकको स्तरोन्नती गर्नु र व्यवसायीहरुको लापरवाहीलाई सुधार गर्नुले पनि धेरै हदसम्म यातायात क्षेत्रमा हुने यस्ता दुखद् घटनाको न्यूनीकरण गर्न सकिन्छ । यातायात क्षेत्रलाई साझा व्यवसायको रुपमा ग्रहण गर्न र निजीकरणको अन्त्य गर्नु पनि अनिवार्य छ । निश्चित समितिको निजी सडक, निजी क्षेत्रजस्तो परम्परा जो चल्दै आएको छ, यसको निराकरण पनि आजको अवश्यकता हो । यात्रुलाई कसरी सहज वातावरणमा सेवा दिन सकिन्छ भन्ने कुरामा पनि व्यवसायीहरु स्वतन्त्र र स्वस्थ प्रतिष्पर्धा गर्ने कि !
–२०७३ साउन ३२ गते मंगलबार प्रकाशित

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger