जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

पर्यटनः सम्भावना र चुनौती

0 comments

नवीन लाेचनमगर
नेपालले आफ्नो सुन्दरता बेचेरै धनी बन्न सक्छ भनिन्छ । नेपाल प्राकृतिक हिसावले यति भरिपूर्ण छ कि सुन्दर छटाहरुको मनमोहक दृष्यले सबैलाई लोभ्याउँछ । विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै छ त्यस्तै विश्व सम्पदामा सुचिकृत थुप्रै कुराहरु नेपालमा छन् । यद्यपि भूकम्पको क्षेतिका कारण केही अस्तव्यस्त भए पनि नेपालको सुन्दरता पर्यटकीय हिसावले अझै परिपूर्ण छ । पर्यटनलाई प्रवद्र्धन गर्न सके तथा हाम्रो सुन्दरतालाई बेच्न सकेमात्र पनि हामी धनी बन्न सक्छौं ।

रोल्पामा पर्यटन सम्भावना
रोल्पा पर्यटनको हिसावले विश्वकै आँखामा परेको जिल्ला हो । युद्ध पर्यटनको हिसावले रोल्पाबारे दुनिया जान्न चाहन्छ । १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धले विश्वको ध्यान नेपाल र खासगरि रोल्पामा केन्द्रीत भयो । यसका सकारात्मक र नकारात्मक कुरा थुप्रै होलान् तर पर्यटनको हिसावले हेर्दा युद्धपर्यटनकै माध्ययमबाट रोल्पाको विकास सम्भव छ । अहिले गुरिल्ला ट्रेकिङको चर्चा छ, सुलिचौर जेल्बाङ, जलजला थबाङ हुँदै हिड्ने गुरिल्ला रुटलाई व्यवस्थित गर्न सकिन्छ । त्यस्तै थबाङले आफ्नो छुट्टै पहिचान नै बनाइसकेको छ । 

रोल्पा आएको जो कोही एकपटक थबाङ र जलजला पुग्न चाहन्छ । थबाङ, जेल्बाङ, जलजला नपुगेर तिर्सना पूरा हुँदैन । तर त्यहाँ पुग्नका लागि सहजता अवश्य छैन । असहज परिस्थितिका कारण पनि धेरै पर्यटक त्यहाँ पुग्न सकिरहेका छैनन् । थबाङमा होमस्टे सञ्चालन गरेर आसपासका क्षेत्रको प्रचारप्रसारतर्फ स्थानीय समुदाय नै अग्रसर हुन आवश्यक छ । जलजला क्षेत्रको सुन्दरताको बयान गरिसाध्य छैन । थबाङमै सहकारी, कम्यून, जनवादी विद्यालय लगायत विभिन्न स्थानीय संस्कृति पहिचानको अवलोकन पनि पर्यटनको अर्को बलियो आधार हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण त्यस क्षेत्रको उचित व्यवस्थापन तथा त्यहाँसम्म पुग्ने मोटरबाटो व्यवस्थित गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई थप मद्दत पुग्ने देखिन्छ । युद्ध पर्यटनको हिसावले युद्धमा सबैभन्दा धेरैले ज्यान गुमाएको जेल्बाङ, गुम्चाल विभिन्न स्थानका तालिम केन्द्रहरु त्यस्तै पछिल्लो समय जनमुक्ति सेनाको क्यानटोनमेन्ट राखिएको ठाउँ दहबन होलेरी क्षेत्र, तिला गैरिगाउँ लगायतका स्थानलाई पनि व्यवस्थित गर्न जरुरी छ ।

अर्को पूर्वी रोल्पाको स्यूरीमा रहेको सुनछहरी झरना पनि रोल्पाको एउटा सम्पत्ति हो । नेपालकै अग्लो दावी गरिएको यो झरनालाई आधिकारिकता भने प्राप्त भएको छैन । झरनाको सुन्दरता यति मनमोहक छ कि जसको बयान गरिसाध्य छैन । यता स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टी निकै ओझेलमा छ । यसको विकास तथा प्रचारप्रसार अनिवार्य छ । तपस्वीले तपस्या गरेको प्यूठानको स्वर्गद्वारी त्यति चर्चामा पुगिसक्यो तर उनकै जन्मस्थल रुन्टी ओझेलमा छ । यता जुँगारमा रहेको शिव गुफा पर्यटकको पर्खाइमा छ ।

गजुलकोट दरबार, खुंग्रीको चतुर्भूज मन्दिर, गामको विवाङ दह लगायतका स्थानहरु पर्यटनको सम्भावना बोकेका क्षेत्रहरु हुन् । यसको प्रचारप्रसार सँगै पूर्वाधार विकास तर्फ सरोकारवाला निकायहरुको जागरुकता आवश्यक छ । यहाँको मौलिक कला संस्कृतिलाई पनि विकास गर्न जरुरी छ ।

पर्यटन चुनौती
रोल्पामा रहेका पर्यटकीय क्षेत्रलाई विकास गर्नका लागि मूख्य चुनौती भनेको दीर्घकालीन गुरु योजनाको हो । पर्यटन क्षेत्रको विकासको चर्चा जति गरे पनि बजेट विनियोजन वा पूर्वाधार विकासका सन्दर्भमा त्यति चासो दिएको देखिदैन । अन्यको तुलनामा निकै थोरै प्रतिशत मात्र बजेट पर्यटनका लागि छुट्याइन्छ । विकास निर्माणको नाममा बाटो बनाउनेतिर मात्र ध्यान गइरहेको छ । जसका कारण भएका पूर्वाधारहरु समेत संकटमा छन् । केही थोरै बजेट मात्र ठाउँठाउँमा छर्दा त्यसको परिणाम पक्कै सकारात्मक आउँदैन । विकास सम्बद्ध संस्थाबाट बजेट छुट्याएको छुट्याई तर विकास भने कहिल्यै हुन नसक्ने यस्तो अवस्थालाई न्यूनिकरण गर्न र परिणाममूखी पर्यटन विकास गर्न दीर्घकालीन योजनाका साथ कुनै खास विषयमा केन्द्रीत रही गुरु योजना बनाउनुपर्छ । रोल्पालाई चिनाउन र विकासको नयाँ चरणमा लैजान पनि पर्यटन विकास अनिवार्य छ । यसलाई व्यवस्थित रुपमा विकास गर्ने कुरा नै मुख्य चुनौतीको रुपमा रहेको छ । सरोकारवाला सबैले पर्यटनलाई विशेष प्राथमिकता दिई बजेट विनियोजन देखि हरेक कुरामा गम्भिरतापूर्वक लागेमा रोल्पाको सुन्दरताले हामीलाई धनी बनाउन सक्छ । युद्धपर्यटन, धार्मिक सांस्कृतिक पर्यटन र पर्यापर्यटनलाई अगाडि बढाउनु अनिवार्य छ ।
(सनस्टारमा प्रकाशित)

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger