जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

५ नं. प्रदेश टुक्र्याए कडा आन्दोलनको चेतावनी

0 comments

कार्तिक २९, रोल्पा ।
संविधान संशोधन प्रस्तावमा रोल्पासहित ५ नं. प्रदेश अन्तर्गतका केही जिल्लाहरु ६ नं. प्रदेशमा लैजाने चर्चा व्यापक बन्न थालेपछि यहाँका सरोकारवाला चनाखो बनेका छन् । सोमबार रोल्पा उद्योग वाणिज्य संघले यसै विषयमा केन्द्रीत रही अन्तरक्रिया ग¥यो । सो अन्तरक्रियामा बोल्ने सबैजसो वक्ताहरुले ६ नं. प्रदेशमा लगिए आन्दोलनको कुनै कसुर बाँकी नराखिने भन्दै आक्रोश व्यक्त गरे । मधेसलाई सन्तुष्ट बनाउन आफूहरुले बलिदान गर्न नसक्ने भन्दै त्यसप्रकारको वातावरण बनाइए नेताहरु विरुद्ध कडा आन्दोलन चलाइने समेत उनीहरुले बताए । दल तथा सरोकारवाला सबै निकायहरुले ५ नं. प्रदेश टुक्र्याउने विषयमा आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

दलहरुको प्रतिवद्धता
जिल्लामा क्रियाशील नौवटै दल रोल्पालाई ५ नं. प्रदेशमै राख्न सहमत भएका छन् । उनीहरुले टुक्र्याउनका लागि केन्द्रबाट जस्तोसुकै दवाव वा ह्वीप आए पनि अस्वीकार गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति खटकबहादुर खत्री तोराबोराले रोल्पामा मुलुक हाक्ने नेता भएपनि जिल्लाको सुगमतालाई ख्याल नगर्नु दुखद् भएको बताउनुभयो । अखण्ड ५ नं. प्रदेश हुनुपर्ने भन्दै खत्रीले पार्टीले जुनसुकै ह्वीप जारी गरे पनि सम्झौता नगर्ने बताउनुभयो । 

नेकपा एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरले ५ नं. प्रदेश टुक्र्याउने कुरा राष्ट्रियतासँग जोडिएको तर्क गर्दै यसले चिन्तित बनाएको बताउनुभयो । उहाँले रोल्पालाई ६ नं. प्रदेशमा लैजानुको कुनै आधार नभएको टिप्पणी गर्नुभयो । ‘नेताहरुले संशोधनको कुरा सामान्य हिसावले लिएका छैनन्’ घर्तीमगरले भन्नुभयो ‘नेताहरु सचेत होऊन् मधेसको अधिकारको कुरा गर्दा हाम्रो अधिकार नखोसियोस् ।’ सीमांकन, अंगीकृत नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्व यी तीन विषयमा संशोधन हुन थालेको भन्दै घर्तीमगरले नेपाली जनताको अधिकारप्रति ख्याल नगरी सम्झौता गरिए मुलुक भयाबह दुर्घटनामा फस्ने बताउनुभयो । उहाँले अंगीकृत नागरिकताको कुरा भारतबाट निर्देशित भएर आएको आरोप समेत लगाउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्र रोल्पाका नेता पवन कुमार कवरले संघीयताका विभिन्न अभ्यासहरु भइरहेको र सोही अन्तर्गत यो प्रस्ताव आउन लागेको भन्दै जनता गलत निर्णय हुन नदिन चनाखो बन्नुपर्ने बताउनुभयो । 

५ नं. प्रदेश सबै हिसावले मिलेको तर्क गर्दै नेता कवरले टुक्र्याएर ६ नं. मा गाभिए सबैभन्दा पिछडिएको जिल्ला हुने ठोकुवा गर्नुभयो । मधेसको घाउ पुर्न आफूहरुको मासु लुछ्न लागेको भन्दै कवरले त्यसो गरेमा अखण्ड ५ नं. प्रदेशको आन्दोलन चर्काइने बताउनुभयो । राप्रपा नेपालका अध्यक्ष टिकाबहादुर वलीले पनि उक्त निर्णय गरिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य कुमार शाहले विकास निर्माण प्रक्रिया तराइबाट पहाडतिर उक्लिएकोले तराई पहाड नजोडेर प्रदेश सम्पन्न हुन नसक्ने र अहिलेको ५ नं. प्रदेश सबै हिसावले अनुकुल रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले राज्यले कमजोर ठानेर ५ नं. प्रदेशलाई आक्रमण गरेको तर्क गर्नुभयो । रोल्पामा नेता थुप्रै भएको तर अडान कम भएका कारण हेपिनु परेको उहाँले बताउनुभयो । त्यस्तै गैरसरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्ण बाँठामगरले राजनीतिक विषय भएकोले दलहरुले नेतृत्वलाई दवाव तथा आन्दोलनको अगुवाई गर्नुपर्ने बताउनुभयो । लेखापढी कानून व्यवसायी एसोसियसनका अध्यक्ष होमबहादुर थापाले स्थानीय तहको सीमांकन भइरहेको बेला प्रदेश टुक्र्याउनु गलत भएको टिप्पणी गर्नुभयो । हरेक नागरिकको एकप्रकारको धारणा बनिसकेको दावी गर्दै उद्योग वाणिज्य संघ रोल्पाका निवर्तमान अध्यक्ष किशोर आचार्यले प्रदेश टुक्र्याउने कुरा आपत्तिजनक भएको बताउनुभयो । 

त्यस्तै नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगरले दलहरु जिम्मेवारबोधका साथ अगाडि बढ्नुपर्ने र प्रदेश टुक्र्याउने कुरामा कुनै सम्झौता गर्न नहुने तर्क गर्नुभयो । दलहरुप्रति शंका व्यक्त गर्दै घर्तीमगरले दलको घेराभन्दा माथि उठेर सचेत नागरिकको हिसावले सोच्नुपर्ने जरुरी रहेको बताउनुभयो । नागरिक समाजका अगुवाहरुले पनि आन्दोलनको नेतृत्व गर्नुपरे आफूहरु तयार रहेको भन्दै अखण्ड ५ नं. प्रदेशको आन्दोलन रोल्पाबाटै सुरु गर्ने बताए । कतिपय वक्ताहरुले दाङ प्रादेशिक राजधानी हुनुपर्ने समेत बताएका थिए । दाङसँगै रोल्पालाई नछुटाउनुपर्ने उनीहरुको तर्क थियो ।

सरकारलाई ज्ञापनपत्र
मंगलबार जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । दल, विभिन्न संघसंस्था लगायत सर्वपक्षीय सहभागीतामा ज्ञापनपत्र पेश गरिने सुवेदीको भनाई छ । ज्ञापनपत्र पेशपछि राजनीतिक विषय भएकोले दलहरुकै अगुवाइमा संघर्ष समिति बनाई आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । अखण्ड ५ नं. प्रदेशका लागि टुक्र्याउन थालिएका जिल्ला तथा अन्य जिल्लाहरुसँग समेत आवश्यक समन्वय गरिने संघका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्ष बालकृष्ण सुवेदीको सभापतित्व रहेको थियो भने महासचिव रामचन्द्र थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger