जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

तीन दर्जन महिला तथा बालबालिका घर फिर्ता

0 comments



८, पुस रोल्पा ।
जिल्ला प्रहरी कार्यालय रोल्पा र जिल्ला बालकल्याण समिति रोल्पाले दिनहुँ इँटाभट्टा जान भनी हिडेका महिला तथा बालबालिकाहरुलाई नियन्त्रणमा लिँदै घर फर्काइरहेको छ । बिहीबार १४ जनालाई घर फर्काएको प्रहरीले शुक्रबार २२ जनालाई घर फिर्ता गरेको छ । पश्चिमी रोल्पाको राँक गाविसबाट सदरमुकाम झरेका चौध जना किशोरीहरुलाई घर फर्काइएको प्रहरी महिला सेलकी प्रमुख दिलकुमारी बुढामगरले बताउनुभयो । आफन्तलाई बोलाएर ती सबैलाई घर फर्काइएको छ । त्यस्तै शुक्रबार भेटिएका २२ जनानै बालबालिका रहेका छन् । उनीहरु ११ वर्षदेखि १८ वर्षसम्मका रहेका छन् । आजभोलिको समय इँटाभट्टामा जाने सिजन भएकोले चनाखो हुनु परेको जिल्ला बाल कल्याण समितिका अध्यक्ष गोकर्ण पुनमगरले बताउनुभयो ।

कसरी पुग्छन् भट्टा ?
काठमाडौं उपत्यकाका विभिन्न भट्टाहरु खासगरि पुस, माघ र फागुनमा सञ्चालन हुन्छन् । यी तीन महिनामा गाउँगाउँबाट दलालहरु मार्फत कामदार त्यहाँ पुग्छन् । त्यही क्रममा नै बिहीबार ती कामदारलाई भट्टासम्म पु¥याउने कामको अगुवाई गरिरहेका थिए पवित्रा रानाक्षेत्री (३६)ले । उनी र उनीजस्तै अन्यले समेत भट्टा मालिकसँग सम्पर्क गरी हरेक इँटाभट्टा सिजनमा जिल्लाका विभिन्न ठाउँबाट महिला तथा किशोरीहरुलाई भट्टा पु¥याउँछन् । जति धेरे कामदार लैजान सक्यो त्यति नै उनीहरुलाई कमिसन आउने भएकोले पैसाकै लागि यस्तो गरेको हुनसक्ने बालकल्याण समिति रोल्पाका अध्यक्ष गोकर्ण पुनमगर बताउनुहुन्छ । शुक्रबार पनि रोल्पाको गजुलबाट ७ जना, ह्वामाबाट ७ जना, धबाङबाट ४ जना र रुकुमको महतबाट ४ जना गरी २२ जना लिबाङबाट फर्काइएका हुन् । शुक्रबार भेटिएका धबाङ–३ का मंगली ओलीले कक्षा पाँचमा पढिरहेको बताइन् । उनले विएम इँटाभट्टा भक्तपुरमा जान लागेको बताइन् ।
‘कमाई राम्रै हुन्छ, त्यसैले जान्छु’ अघिल्लो वर्ष पनि महेश्वरी भट्टा भक्तपुर–४, पुगेकी र अहिले पनि जान हिडेकी राँक–५, का संगीता विक (१८) भन्छिन् ‘थोरै भएपनि आम्दानी हुन्छ अनि किन त्यतिकै बस्नु भनेर जान लागेको ।’ ‘राम्रै कमाई हुन्छ भन्छन् सबैले, त्यै भएर जान लागेको हुँ’ सरिता विकले भनिन् । वर्ष सातको छोरा र वर्ष पाँचकी छोरी बोकेर इट्टा भट्टा हिडेकी सरिता कामको खोजीमा हिड्नु बाध्यता भएको बताउँछिन् । ‘श्रीमान पैसा कमाउन निस्केको सातवर्ष भइसक्यो, अझै अत्तोपत्तो छैन’ सरिताले भनिन् ‘छोराछोरी कहाँ छोड्नु भनेर सँगै बोकेर हिडेको हुँ ।’ छोराछोरी पाल्नकै लागि पनि इँटाभट्टा जान लागेको उनको भनाई छ । 

सल्लाहमै जान थालेको दावी
इँटाभट्टा जान लागेका सबैले आफूहरु सल्लाहमै जान लागेको दावी गरेका छन् । घरमा सल्लाह गरेर नै आएको भन्दै उनीहरुले घर नफर्किने समेत अडान लिए । उनीहरुले जे भने पनि सबैलाई घर फर्काइएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो । ‘सल्लाहमै जान थालेको भए पनि पठाउन मिल्दैन’ घर्तीमगरले भन्नुभयो ‘जानकारी पाएसम्म भट्टामै पुगेकालाई पनि फर्काउँछौं ।’ इँटाभट्टा सिजन भएकोले पनि यो समयमा प्रहरी चनाखो भइरहेको उहाँले बताउनुभयो ।

हराएका तीन बालिका फेला
घरबाट भागेर हिडेका पूर्वी रोल्पा गामका तीन बालिकालाई बिहीबार अभिभावकको जिम्मा लगाईएको छ । १९ दिन अघि हराएका ती बालिकाहरु नेपालगञ्जमा फेला परेका हुन् । उनीहरुलाई पौष ४ गते बाँके प्रहरीले फेला पारेपछि साथी नेपालमा दुईसाता राखेका थिए । घरपरिवारको सम्पर्कमा नआएपछि उनीहरुलाई थ्री एञ्जल नेपाल नेपालगञ्ज बाँकेको सहयोगमा महिला तथा बालबालिका कार्यालय रोल्पा मार्फत् अभिभावकको जिम्मा लगाईएको हो ।
रोल्पाको सेफ हाउसमा उनीहरुलाई एकदिन राखेपछि अभिभावकलाई जिम्मा लगाईएको छ । गाम ठूलोगाउँ निवासी कक्षा ७ मा अध्ययनरत १४ वर्षीय प्रेमाला घर्ती र ७ कक्षामै अध्ययनरत १४ वर्षीय मटिला बुढा र गाम १ ठूलोगाउँ माईत भएकी उवा–६ मा ९ महिना अघि बिहे गरेकी १८ वर्षीय सुनिता नेपाली १९ दिन अघि रोल्पाबाट काम खोज्न भनी भागेर नेपालगञ्ज पुगेका थिए । बयानका क्रममा प्रेमालाले घरपरिवारबाट पढाई छाड्नका लागि दबाब आएको र विवाहित रहेकी सुनिताले बुवाबाट यातना पाएपछि भाग्ने आँत गरेको बताएका छन् । जिल्ला बाल कल्याण अधिकृत गोकर्ण पुनमगरले आफन्तको जिम्मा लगाइएको बताउनुभयो ।

आमाहरु दुखित्
आमा गम्बी बुढाकाअनुसार छोरी मटिलाले दोश्रो त्रैमासिक परीक्षा सकाएर घर फर्के लगत्तै परीक्षाको अन्तिम दिनमा भागेको बताउनुभयो । आफूले कुनै कर नगरेको बरु छोरी लहलहैमा लागेर भागेको आमा गम्बी बुढाले दुखेसो पोख्नुभयो । चौधवर्षअघि बुवाले अर्की श्रीमती लिएर गएको भन्दै उहाँले कान्छी छोरी मटिलालाई धेरै मायाँ ममता दिएर हुर्काए पनि साथीको लहलहैमा लागेर भागेको बताउनुभयो । यस्तै आमा टेकमा घर्तीले छोरी प्रेमाला भाग्नुको पछि समाज नै दोषी भएको बताउनुभयो । गाउँमा धेरै बालबालिकाहरु इँटाभट्टा तथा अन्य काममा गएको सिको गर्दै भागेको बताउनुभयो । प्रेमलाले घरबाट दुइहजार रुपैयाँ लगेको र त्यसैले भाडा हालेर नेपालगञ्ज पुगेको बताइएको छ । बयानका क्रममा ती बालिकाहरुले आफूखुशी कामको खोजीका लागि हिडेको कसैले ललाई, फकाई नगरेको बताएका छन् ।

हरेकवर्ष फर्काइन्छन् बालबालिका
महिला तथा बालबालिका कार्यालय रोल्पाको तथ्यांकअनुसार गत वर्षमात्रै सातजना बालबालिका ईट्टाभट्टाबाट घर फर्काइएका थिए । उनीहरु सबै १४ वर्ष मुनिका रहेका थिए । त्यस्तै गतवर्ष भारतबाट समेत पक्राउ गरी तीन बालकलाई आफन्तको जिम्मा लगाइएको थियो । बालअधिकार अधिकृत गोकर्ण पुनका अनुसार जिल्लाका बालबालिकाहरु अत्याधिक मात्रामा इँटाभट्टामा जाने र भारततिर जाने क्रम बढ्दो रुपमा रहेको छ ।

३८ जना हराए
जिल्ला प्रहरी कार्यालय रोल्पा अन्तर्गतको महिला तथा बालबालिका सेलको तथ्यांकमा यस आर्थिक वर्षको साउनदेखि पौषसम्म ३८ जना महिला तथा बालबालिका हराएका छन् । जसमध्ये १ महिला, ४ बालक र ५ बालिका भेटिएका छन् भने बाँकी अझैं बेपत्ता अवस्थामा छन् । यस्तै गत वर्षको तथ्यांकमा ८० जना महिला तथा बालबालिका हराएका मध्ये २५ जना मात्र फेला परे । जसमध्ये ८ महिला, ९ बालिका र ८ बालक फेला परेको महिला सेलकी ईन्चार्ज दिलकुमारी बुढाले बताउनुभयो । 

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger